आजदेखि मौसममा सुधार

Image
maya metro

काठमाडौं – आज दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् ।पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै‚ पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तर‚ बिहीवारदेखि लगातार वर्षा र हिमपात गराएको पश्चिमी न्यून चापीय प्रणाली आजदेखि भने कमजोर हुँदै जाने र मौसममा सुधार हुने मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

nisarga

दिउँसो मधेश तथा अन्य प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। पूर्वी तथा मध्य भू-भागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना समेत छ। बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहनेछ।

यसअघि परेको हिउँदे वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ। हिमपातका कारण सडक, हवाई यातायात प्रभावित भएको छ। अहिले उच्च पहाडी तथा हिमाली भेगका बस्तीहरुमा बाक्लो हिउँ जमेको छ। जनजीवन प्रभावित भए पनि हिउँदे वर्षा र हिउँका कारण किसान भने खुशी भएका छन्।

त्रिविको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल यो वर्षको हिउँदमा पश्चिमी न्यून चापीय प्रणाली पटक–पटक भित्रिएकाले मौसम अघिल्लो वर्षभन्दा फरक देखिएको बताउँछन् । ‘यो वर्ष वेस्ट्रन्ली डिस्टर्बेन्सको आगमन पटक–पटक भएको छ,’ पोखरेलले भने, ‘त्यसले गर्दा वर्षाको मात्रा पनि अघिल्लो वर्षभन्दा बढी छ ।’ अघिल्लो वर्षको हिउँद १६ वर्षयताकै सबैभन्दा सुक्खा भएको थियो ।

विभागको तथ्यांकअनुसार सबैभन्दा कम वर्षा २०६४, २०७४ र २०७७ को हिउँदमा भएको छ । गत वर्षको हिउँदमा जम्मा १५.४ मिमि मात्र वर्षा भएको थियो । वर्षा नभएका कारण वायु प्रदूषणको मात्रा बढेको थियो भने सुक्खाका कारण चिसो मौसममै देशका विभिन्न भागमा डढेलोका घटनामा वृद्धि भएको थियो । सहप्राध्यापक पोखरेलका अनुभवमा यो वर्षको हिउँदमा अधिकतम तापक्रममा समेत अघिल्ला वर्षभन्दा धेरै गिरावट आएको छ ।