विश्वकप छनोट खेलका लागि नेपाली क्रिकेट टोली आज ओमान जाँदै

Image
maya metro

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ । आईसीसी पुरुष टी–२० विश्व कप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाउन टोली आज बेलुका ओमान जान लागेको हो ।

विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली मंगलबार राति ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

nisarga

​ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्। खेलहरु फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछ।

समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन्। समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्। नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ।

नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ। नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ।

नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ।

फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ।

फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन्।

छनोट खेल अघि नेपालले ओमानमा चार देशीय टी–२० श्रृङ्खला पनि खेल्नेछ । श्रृङ्खलमा नेपाल, ओमान, यूएई र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।