
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले अश्लिल गालीगलौजका कारण फेरि विवादमा तानिएका छन्।
भारतमा बसेर नेपाली नेताहरुलाई लिएर सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका एक युवकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई उत्तेजित पारेर एक वर्ष अघि रेकर्ड गरेको भिडियो सार्वजनिक उनी विवादमा परेका हुन्।

उनले धम्की दिएको अडियो–भिडियो दुवै सामाजिक सञ्जालमा भाइरल छ। आफूलाई सामाजिक सञ्जालमा कमेन्ट गरेको भन्दै आलेले ती युवकलाई निकै तल्लोस्तरको भाषामा गाली गरेका छन्। उनले ती युवकलाई बसेकै ठाउँबाट उठाइदिने धम्कीसमेत दिएका छन्।
यस्तै मन्त्री आलेको सचिवालयले भने तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै आपत्ति जनाएको छ।
अछाम घर भई भारतको मुम्बई बस्दै आएका नेकपा एमालेका कार्यकर्ता जगत ओलीले निरन्तर रुपमा बल्याकमेल गर्न थालेपछि मन्त्री आलेले उनलाई गाली गरेको बताईएको छ ।
निरन्तररूपमा मन्त्री आले तथा नेकपा एकीकृत समाजवादीका नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका छन्।
मन्त्री आले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका एमालेका कार्यकर्ता ओलीले षडयन्त्रपूर्वक आलेलाई उत्तेजित पारेर भिडियो रेकर्ड गरेको र ओलीको उक्त कार्यका बिरुद्ध कानुनी उपचार खोज्ने रेग्मीले बताए ।
सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन्।






























