
धनगढी – धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर (एलपीएल) – १९ क्रिकेट प्रतियोगिता अन्तर्गत अत्तरियाको एभरेष्ट एकेडेमी अत्तरियाले दोश्रो जित हात पारेको छ । एभरेष्टले सैनिक आवासीय मावि अत्तरियालाई ६ विकेटले पराजित गरेको हो ।
धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा सैनिक आवासीय माविले दिएको १०४ रनको लक्ष्य एभरेष्ट एकेडेमीले १६ ओभरमा ४ विकेट क्षेतीमा भेटायो ।

एभरेष्ट एकेडेमीको लागि रितिक थापाले सर्वाधिक ४२ रन बनाए । उनले ३६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । यस्तै कृष ऐरले अविजित २९ रन बनाए । रितिक र कृषले पाँचौ विकेटको लागि अविजित ६० रनको साझेदारी गरे । सैनिक आवासीयका बलर आकाश चन्दले दुई तथा खडक बोहरा र गौतम केसीले समान एक विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १०३ रन बनाएको थियो । उसको लागि गौतम केसीले सर्वाधिक ३१ तथा सगर चन्दले २१ रन बनाए । एभरेस्ट एकेडेमीका बलर गोविन्द बिस्टले सर्वाधिक ३ विकेट, धर्म जोशी र दिपक रोकायाले समान दुई विकेट र कृष ऐरले एक विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच गोविन्द बिस्ट घोषित भए ।
















