स्थानीय तहको निर्वाचनका लागि बैतडीमा ९ मतदानस्थल थपिए

Image
maya metro

बैतडी – आगामी स्थानीय तहको निर्वाचनका लागि जिल्लामा नौ मतदानस्थल थपिएका छन्। मतदाता सङ्ख्या बढी भएको र भौगोलिकरूपमा टाढा रहेका स्थानमा मतदानस्थल थप गरिएका हुन्।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जिल्लाको पाटन, मेलौली र पुर्चौंडी नगरपालिका, सिगास, पञ्चेश्वर तथा डिलाशैनी गाउँपालिकामा मतदानस्थल थपिएका जानकारी दिए। प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी मतदानस्थललाई थप गर्ने निर्णयसहित गत वर्ष निर्वाचन आयोगलाई सिफारिस गरेको थियो।

nisarga

यसैबीच जिल्लाको दुईवटा मतदानस्थललाई सार्ने निर्णय पनि भएको छ। दोगडाकेदार गाउँपालिका–४ मा रहेको हुनैनाथ आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई पञ्चकोटी आधारभूत विद्यालयमा सारिएको छ भने मेलौलीमा रहेको मणिलेक माध्यमिक विद्यालयको मतदानस्थललाई सारेर वडा नं १ को जनचेतना आधारभूत विद्यालयमा राख्न सिफारिस गरिएको हो। विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनका बेला १२० मतदानस्थल रहेकामा नौ बढेर अब १२९ मतदानस्थल भएका छन्। बैतडीमा एक लाख ५० हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ। स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीसमेत थालिएको जनाएको छ।

रासस