कामकाजी महिलाहरुको कार्यस्थल कहिले सुरक्षित होला ?

padma

उन्नती चौधरी – अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात मार्च ८ लाई महिलावादी आन्दोलनको जन्मदाताको रुपमा लिने गरिएको छ । विश्वभरका महिलाले यो दिनलाई आफ्ना अधिकारको खोजी र विभेद विरुद्ध बोल्ने दिनको संज्ञा दिन्छन् । यो एक अभियान नै हो । यो अभियानमा महिलाले सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिकसहितका विभिन्न क्षेत्रमा झेल्नु परेका समस्या र त्यसको अवस्थाका बारेमा वकालत गर्ने र उनीहरुलाई जागरुक बनाउने उद्देश्यका साथ विश्वका महिलाहरु अ आफ्नो ठाउँबाट बहस र पैरवी गर्दै दिवस मनाउने गर्दछन् ।

यो दिवश मनाई राख्दा आफू पत्रकार भएकै कारण पत्रकार महिलाले भोग्नु परेका हिंसाका अक्षरहरु कोर्न मन लाग्यो । पेशा फरक भए पनि हिंसा त हिंसा नै हो । नेपालको मिडिया हाउस उसै पनि सुरक्षित छैन । तर आफ्नो मिडिया हाउसमा काम गर्ने महिलाको त सम्मान पो हुनु । खैर ! यहाँ त आफ्नै सहकर्मी, विज्ञापन दाता र स्रोतसंग पत्रकार महिलाहरु तनाब झेल्नु परेको थुप्रै उदाहरणहरु छन् ।

पत्रकारीता पेशा सामाज र जनताको हितमा समर्पित पेशा हो । यो पेशामा आवद्ध पत्रकारहरुले लुकेको अवाजलाई खोटलखोताल गरि बाहिर ल्याएउने काम गर्छन् । झ्वट हेर्दा पत्रकारलाई आक्रमण गर्ने, हिंसा गर्ने आट कमैले गर्छन् । तर पनि पत्रकारिता पेशा अगालेर दैनिक जोहो गरिरहेका पत्रकार महिलाहरु हरेक दिन कुनै न कुनै हिंसाको सिकार बन्न बाध्य छन् ।

केही दिन अगाडी म एउटा कार्यक्रममा सहभागि भए । जहाँ सातवटै प्रदेशका पत्रकार महिलाहरुसंग भलाकुसारी गर्ने मौका जुड्यो । कुराकानीको क्रममा प्रदेश नं. २ का एक सहकर्मी साथीले सबैलाई आफू तिर केन्द्रीत गरिन् । उनको शुरुवाटी शब्द रेडियोमा समाचार बाचन गर्दै गर्दाको जस्तो लाग्यो । बोल्दा बोल्दै बिचमा रोकिन् र भनिन् ‘यसरी स्टुडियो भित्र समाचार पढ्दै गर्दा पछाडीबाट कोही पुरुष आएर हात च्याप्प समात्छ र मुर्सान थाल्छ भने कस्तो अनुभव होला ?’ उनी स्टुडियो भित्र आफू माथि भएको हिंसाबारे बेली विस्तार सुनाईन । आफ्नै अफिसको सहकर्मीबाट उनी पीडित भएको अनुभव सुनाईन् ।

उनी थपिन् ‘हामी कुनै बेला यस्तो अवस्थामा हुन्छौं, जहाँ आफूलाई हिंसा भईरहेको थहाँ हुदाँ हुदै पनि प्रतिकार गर्न सक्दैनौं । मेरो हकमा यहि भयो । स्टुडियो भित्र म कसरी प्रतिकार गर्न सक्थे ।’ सामाचार पढिसकेपछि उनी स्टुडियो बाहिर आएर उक्त पुरुषसंग झगडा गर्दै थप्पड पनि पड्काई ।

उनले भनिन् ‘हामी महिला पुरुष जो भए नि मानब त मानब नै हौ । प्रेम गर्ने अधिकार उसलाई छ, तर उसको प्रेममा मलाई पनि त स्वीकार हुनु पर्यो नि ! उ म प्रति आकर्षित हुनु मेरो कुनै दोष होईन, उसले मलाई जुन व्यवाहार गर्यो त्यो अपराध नै हो ।’ उनी आफूमाथि भएको हिंसाबारे अफिसमा जानकारी समेत गराईन् । तर त्यसको प्रतिफल तलब रोक्का भयो ।

अर्को कुनाबाट फेरी एक सहकर्मी आफ्नो कुरा सुनाईन् । उनी अन्तवार्ता लिन एक मन्त्री कहाँ पुगिन् । अन्तवार्ता शूरु भयो । सन्चै हुनु हुन्छ सर ? सन्चै छु । यति मात्रै के बेलेको मन्त्रीले उल्टै प्रश्न गरे । नानी तिम्रो वाईफ्रन्ड छ ? अन्तवार्ता लिन जाने पत्रकार के बोलुबोलु भयो । त्यसपछि उनी केही नबोली हिडिन् ।

उनले अर्को अनुभव पनि सुनाईन् । रिर्पोटिंकको क्रममा अर्को जिल्ला जानु पर्यो । रात त्यहि बस्नु पर्यो । साथमा गएका एक पुरुष सहकर्मीसंगै एक होटेलमा अलग अलग कोठा लिएर बसे । राती पुरुष सहकर्मीले फोन गर्यो, तिमीलाई चिसो भएन ? उनले नाईको जबाफ दिईन् । केटोले कुरा अगाडी बढायो, मलाई त लास्तै चिसोहुँदै छ नि ? उनले जबाफमा सिरक ओढ न त भनिन् । केटाले मुखै खोलेर तताउनलाई सिरक होईन, तिमी नै चाहियो भन्यो । उनी फोन काटिन् र मोबाईल आफ गरेर सुतिन् ।

Shikhar Dental

यस्तै यस्तै घटनाहरु शेयर हुदै थियो । एक जना पत्रकार साथीले आफू रिर्पोटिंगको क्रममा एक पुरुष सहकर्मी साथीको बाईक पछाडी बसेर रिर्पोटिंकमा हिडेको घटना सुनाईन् । गर्मीको मौसम थियो । उनी हाफ टिसर्ट र म्यडि (स्कट) लगाएकी थिईन् । रिर्पोटिंकको गन्तव्य पुग्नु अगाडी बाटोमा सानो जंगल पर्थ्यो । त्यहि जंगलमा पुगेपछि बाईक चलाउने पुरुष सहकर्मीले सोध्यो, साथी एउटा कुरा सोधु ? उनले हुन्छ भनिन् । उसले रिसाउने त होईनौं ? किन रिसाउनु, रिसाउने कुरा भए पो रिसाउनु । उसको प्रश्न थियो, तिम्रो बुब्स (स्तन) कस्तो राम्रो छ ? गुब्बाराको जस्तो । महिला साथीलाई झन्नक रिस उठ्यो, उनी बाईक रोक्न निर्देश गरिन् र ठाउँका ठाउँ प्रतिकार गरिन् ।
मोफसलमा काम गर्दाको अनेकौ अनुभव बटुलिरहेका पत्रकार महिलाहरुको अ आफ्नै कथा छ । पत्रकार हुँदाको पीडा, केटा साथी बनाउँ सहनै नसक्ने मानसिक तनाव । साथी नबाउँदा सूचनाबाटै बञ्चित हुनुपर्ने अवस्था । कस्तो दोसांधको जिन्दगी ! महिला होस, या पुरुष पत्रकार त पत्रकार नै हो नि ।

मलाई मजाले थहाँ छ । राती अबेर सम्म म्यासेन्जर मात्रै होस् । कोही न कोहीको गिद्धेजनर आईलाग्छ । एकदिन फेसबुक च्याटमा एक सहकर्मी साथी कुराकानी गर्न खोज्नु भयो । मैलेपनि राम्रै तरिकाले रिप्लाई गरे । दुई चार दिनमै उनको म्यासेजमा लेखिने शब्दहरु भल्गर अर्थात अश्लिल बन्न थाल्यो । मलाई उनको कुरामा रुचि जाग्न छोड्यो । अन्तमा आफू तेस्रोलिंगि हुँ भन्दै उबाट छुट्कारा पाए । यसरी फेसबुक म्यासेजमै आएक अक्षरहरुको प्रतिकार गर्दा गर्दै थाकिसकेको ‘म’ कँयौ पटक आफूलाई पुरुषहरुको ओछ्यान तताउनलाई मात्र जन्म लिएको हुँ र ! जस्तो अभाष बटुलेको छु ।

उदाहरणहरु धेरै छन् । एक दिन मिठो के बोल्नु पुरुषका नजर त तिनै स्तन र यौनीमा केन्द्रीत भईदिन्छ । त्यसपछि उसले विभिन्न बहानमा राती राती म्यासेज, फोन गरी बिना काममा तनाब दिनेहरुको जमातबाट पत्रकार महिलाहरुपनि अछुतो भने पक्कै छैनन् । पत्रकार त अरुका अवाज बन्ने हतियार हुन् तर उनीहरुको अवाज डबिएको कस्ले देख्ने ? दृष्य, अदृष्यरुपले आफूमाथि हिंसा भईरहेको महशुस हुदाँ हुदै पनि प्रमाण जुटाउन नसक्दा न्यायलय सम्म भने पुग्ने गरेको देखिन्दैन ।

वरिष्ट पत्रकार बबिता बस्नेतका अनुसार विश्वका अन्य क्षेत्र र मुलुकमा झैं नेपालमा पनि पत्रकारलाई सुरक्षामा चुनौती छ । त्यसमा पनि पत्रकार महिलालाई अझ बढी छ । कतिपय पत्रकार महिलालाई घरपरिवार र समाजले पत्रकारिता गर्न असहयोग गरिरहेको सुनिन्छ । कतिपय पत्रकार महिलाहरु आफू कार्यरत सञ्चारमाध्यमको कार्यालयमै असुरक्षित भएको महशुस गर्नु, घरदेखि कार्यस्थल र कार्यस्थलदेखि सूचना तथा घटनाका स्रोतसम्म पुग्दा समेत सुरक्षा चुनौती झेल्नु पर्ने अवस्था छ । तर पनि पत्रकार महिलाले भोगिरहेका सबै समस्या बाहिर आउँदैनन् । उनीहरूले भित्रभित्रै पीडा सहेर परिवार, समाज, कार्यालय र कार्यक्षेत्रमा भेदभाव, दुव्र्यवहार एवं हिंसाका घटनाहरु सामना गर्दै अरुको न्यायकालागि टल्लिन हुन्छन् ।

नेपाली मिडियामा समस्या नभएका होईनन्, तर महिला भएकै कारण पारिवारिक दोहोरो बोझ, अवसरको कमी, भौतिक सुरक्षा, कामको बाँडफाँडमा भेदभाव लगायतको समस्या महिला पत्रकारहरु भोग्न बाध्य छन् । कहिकतै यौन हिंसाका घटनाहरु पनि सुन्नमा आएको छ । हिंसा गर्ने जो सुकै व्यक्ति होस् त्यसको पहिचान गरि कडा कारबाही हुनुपर्छ । चाहे त्यो पत्रकार होस्, मालिक होस् या अन्य कोही किन नहोस् ।

सन् २०१२ देखि पत्रकारको सुरक्षा तथा दण्डहीनतासम्बन्धी संयूक्त राष्ट्रसंघीय कार्ययोजना कार्यान्वयन भइरहेको छ । उक्त कार्ययोजनाको परीक्षण कार्यान्वयन इराक, पाकिस्तान, दक्षिण सुडान र नेपाल गरी विश्वका चार मुलुकमा भइरहेको छ । पत्रकारका लागि स्वतन्त्र र सुरक्षित वातावरण सिर्जना गर्न सहयोग पुर्याउने लक्ष्यका साथ यस कार्ययोजनामा सरकार, गैरसरकारी संस्था, नागरिक समाज, मिडिया, प्राज्ञिक क्षेत्र तथा अन्तरसरकारी संस्था राष्ट्रसंघका सरोकारवाला साझेदार छन् ।

कार्ययोजनाले राम्रो कानूनी व्यवस्था, कानूनको पालना, मिडियाकर्मीलाई सहयोग पुर्याउने न्यायिक संयन्त्र निर्माण, पत्रकार सुरक्षा कोष, संवाद तथा सद्भाव क्रियाकलाप, राष्ट्रिय चेतना अभियान, लैंगिक दृष्टिले संवेदनशील कार्यपद्धति, सुरक्षासम्बन्धी तालिमको व्यवस्था, पाठ्यक्रम र तालिम निर्देशिकाको तयारीजस्ता कामलाई प्राथमिकता दिएको छ । तर यी कार्ययोजनाबारे नेपालका आम पत्रकारहरुलाई जानकारी समेत छैन ।

सरकारले पत्रकारको शारीरिक, मानसिक, व्यावसायिक, पेशागत, आर्थिक र भौतिक सबै किसिमको सुरक्षाको ग्यारेन्टी हुने नीति ल्याउनु पर्छ । पत्रकारले जब सम्म आफूलाई सुरक्षित भएको महशुस गर्दैनन् तब सम्म उसका अक्षरहरु निडर हुनसक्दैन ।

राज्यको चौथौ अंग मानिने पत्रकार महिलाहरु माथि त यस्तो हिंसा हुन्छ भने हाम्रो समाजमा बसोबास गरिरहेका दलित, सिमान्तकृत लगायत अन्य महिलाहरुको अवस्था कस्तो होला । त्यसैले पत्रकार होस या जो कोही महिला, पुरुष वा अन्य । उनीहरुले काम गर्ने स्थान सुरक्षित अनि हिंसा रहित होस् । अनि मात्र पितृसत्तात्मक सोच र समाजबाट मुक्तहुदै महिलाहरु पुरुषको समकक्षीकोरुप परिणत हुनेछन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.