कांग्रेस कैलाली कार्यालयमा तालाबन्दी

Image
maya metro

धनगढी – क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी निर्णयको विरोधमा नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।

पार्टी केन्द्रीय समितिले जेठ १२ गतेभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने निर्णय गरेसँगै जिल्ला सभापति नारायण भट्टको निर्देशनमा कार्यालयमा ताला लगाइएको हो । यसअघि बिहीबार बसेको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सदस्यता वितरण, नवीकरण र अद्यावधिक प्रक्रिया जेठ २१ गतेभित्र सम्पन्न गर्नुपर्ने निर्णय गरेको थियो ।

nisarga

उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै देउवा समूहका नेताहरूले विरोध जनाएको बताइएको छ । कैलाली सभापति भट्ट पनि देउवा पक्षीय नेता भएकाले उनकै नेतृत्वमा कार्यालयमा तालाबन्दी गरिएको स्रोतले जनाएको छ ।

धनगढीस्थित पार्टी कार्यालयमा वडा तथा क्षेत्रीय सभापतिसहितका नेता–कार्यकर्ता भेला भएका थिए । कार्यालयको मूल गेट र कार्यकक्षमा ताला लगाइएपछि केही कार्यकर्ता सिँढी प्रयोग गरी भित्र प्रवेश गरे पनि अधिकांश कोठा बन्द भएकाले कामकाज प्रभावित भएको छ ।

कार्यालय बन्द भएपछि सदस्यता नवीकरण, नयाँ सदस्यता दर्ता तथा अन्य संगठनात्मक गतिविधि ठप्प भएको छ । यस घटनापछि कार्यकर्तामाझ अन्योल र असन्तुष्टि बढेको छ ।