लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्ने

Image

काठमाडौं – आरोही लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्ने भएकी छिन्।

आज काठमाडौंमा नेपाल पर्वतारोही संघले नेपालको झण्डा हस्तान्तरण गर्दै उनलाई सगरमाथा आरोहणका लागि बिदाई गरेको हो।

लाक्पा १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा सगरमाथा जान लागेकी हुन्।

संखुवासभाको मकालुकी लाक्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण २००० सालमा गरेकी थिइन्।

त्यसपछि क्रमशः २००१, २००३, २००४, २००५, २००७, २०१६, २०१७ र २०१८ मा सगरमाथाको सफल आरोहण गरेकी हुन्।

उनले अहिलेसम्म दक्षिण र उत्तर दिशाबाट सगरमाथाको आरोहण गरेकी छिन्।

लाक्पाले अहिलेसम्म १ पटक नेपालतर्फको बाटोबाट र ८ पटक चीन तर्फबाट सगरमाथाको आरोहण गरेकी हुन्।

१० औँ पटक सगरमाथा आरोहणका लागि लाक्पा आउँदो अप्रिल १५ मा सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
आरोही लाक्पा विश्वमा सबैभन्दा बढी सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने महिला हुन्।