
कञ्चनपुर – बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउँद मृत्यु प्रकरणमा ७ जनाबिरुद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउँदले ७ जनाबिरुद्ध आइतबार प्रहरीमा जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–७ हल्दुखालका धर्मानन्द भट्ट, वडा नं.१ बाराकुण्डाका नारायणदत्त भट्ट, मुसेपानीकी कमला साउँदबिरुद्ध जाहेरी परेको छ । भट्टद्धय र साउँद झारफुकको काम गर्छन् ।

यस्तै स्थानीय कुबेरसिंह साउँद, गौरी साउँद, कमला साउँद, जानकी घडाल र चक्र साउँदबरिुद्ध पनि उजुरी परेको छ । ‘उनीहरुबिरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको छ,’ डिएसपी शाहले भने, ‘जाहेरीको आधारमा अनुसन्धान भइरहेको छ ।’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सातै जनालाई अदालतमा पेश गरेको छ । ‘जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ,’ उनले भने । रञ्चुला साउदको शव महाकाली अस्पतालमा राखिएको छ ।
‘शवको परीक्षण भएको छैन्, त्यसैले रिर्पोट आएको छैन्,’ डिएसपी शाहले भने, ‘रिर्पोट आएपछि घटनाबारे थप थाहा हुन्छ ।’ मृतकका आफन्तले शव बुझेका छैनन् । घटनाको सत्यतथ्य जाँच गरी दोषीलाई कारबाही हुनुपर्ने उनीहरुको माग छ ।
चैत २८ गते टाउको दुख्ने समस्या देखिएपछि रञ्चुला छिमेकी कमलाको घरमा पुगेकी थिइन् । त्यहाँ धर्मानन्द र नारायणदत्त भट्टले रञ्चुलालाई थारुको भूत लागेको भन्दै झारफुक गर्ने क्रममा उनको मृत्यु भएको थियो ।
सम्बन्धीत समाचार:
कञ्चनपुरमा झारफुकका क्रममा महिलाको मृत्यु, धामीझाँक्रीसहित ७ जना प्रहरी नियन्त्रणमा














