चुनावी प्रचारमा सगुन खाँदा उम्मेदवार बिरामी

काठमाडौं – सर्लाहीको हरिवन नगरपालिका-११ मा चुनावी प्रचारप्रसारका क्रममा गाउँलेले दिएको सगुन खाँदा ५ जना उम्मेदवार बिरामी परेका छन्।

माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार शेख इस्तिहारसहित सदस्य पदका उम्मेदवारहरू ओमप्रकाश रौनियार, शेख आरिफ, शेख रुजुवा र पूर्णिमा भण्डारी बिरामी परेका हुन्।


निर्वाचन प्रचारप्रसारका क्रममा घरदैलो गर्दा गाउँलेले खानेकुरा दिएका थिए। अन्तिममा उनीहरूले स्थानीयले दिएको मिठाई खाएको खुलेको सर्लाहीका एसपी प्रविन पोखरेलले जानकारी दिए। उनका अनुसार घरदैलो अभियानका क्रममा शुरुमा वडाध्यक्षका उम्मेदवार शेख बेहोस भएका थिए। लगत्तै अरु उम्मेदवार पनि बिरामी भएका हुन्।
खानेकुराबाटै बिरामी परेको पुष्टि भएपनि के खाँदा बिरामी परे यकिन नभएको प्रहरीले जनाएको छ। उनीहरूलाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि वीरगञ्ज पठाइएको छ। उनीहरूमा पोइजनिङ देखिएकाले निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।
