बाजुराका सिडिओसहित सुरक्षा अधिकारी फेरिए

Image
maya metro

धनगढी – बाजुरा बाजुरामा प्रमुख जिल्ला अधिकारीसहित नेपाली प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु फेरिएका छन्। बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचनका क्रममा गम्भीर सुरक्षा लापरवाही गरेको भन्दै सिडिओसहित सुरक्षा अधिकारीहरु फेरिएको हो।

यसअघि निर्वाचन आयोगले कार्यरत प्रजिअसहित सुरक्षा अधिकारीहरुलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिएको थियो। सोही निर्देशन बमोजिम आइतबार नयाँ प्रमुख बाजुरा पुगेका छन्। अहिले बाजुरामा प्रमुख जिल्ला अधिकारीका रुपमा प्रकाशचन्द्र अधिकारी आएका छन्। उनी अध्यागमन विभागमा कार्यरत थिए। यस्तै जिल्ला प्रहरी कार्यालय प्रमुखमा प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापा आएका छन्। उनी नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत थिए। यस्तै सशस्त्र प्रहरी प्रमुख डिएसपीमा टीकापुर तालिम केन्द्रमा कार्यरत गंगा पन्तलाई बाजुरा पठाइएको छ। उनीहरु तीनै जनालाई आइतबार सेनाको हेलिकप्टरबाट सदरमुकाम मार्तडी पुर्‍याएको थियो।

nisarga

यसअघि कार्यरत प्रजिअ उपेन्द्रराज पौड्याल, प्रहरी प्रमुख डिएसपी चतुर्भूज ओझा र सशस्त्रका प्रमुख डिएसपी दिपक बिष्ट आइतबार नै जिल्लाबाट बाहिरिएका छन्। मतदानका दिन बुढीगंगा नगरपालिका अन्तर्गतका विभिन्न मतदानस्थलमा बुथ कब्जा तथा धाँधलीका घटनाहरु भएपछि दुई सातासम्म पुनः मतदान या मतगणना भन्ने विवाद भएको थियो। एमालेले मतगणना हुनुपर्ने अडान लिएको थियो भने कांग्रेसले पुनः मतदानमा जोड दिएको थियो।