
बाजुरा – बाजुराको बुढीगंगा नगरपाीकामा चुनावको मिति अझै अनिश्चित रहेको छ । सिडिओ प्रकाशचन्द्र अधिकारीले निर्वाचनका लागि सुरक्षासम्बन्धी सबै तयारी गरिसकिएको तर चुनावको मिती घोषणा भईनसकेको जानकारी दिए।
बुढीगंगा नगरपालिकामा वैशाख ३० मा स्थानीय चुनाव भए पनि ‘बुथ कब्जा भएको’ भन्दै विरोध भइरहेको थियो। नेपाली कांग्रेसले नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएको छ भने एमालेले सत्ताको दुरूपयोग गर्दै कांग्रेसले कब्जा गरेको आरोप लगाइरहेको छ।

पहिलेका निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले वैशाख ३० मा निर्वाचन आयोगलाई पत्र पठाउँदै बुढीगंगाको निर्वाचन स्वतन्त्र, स्वच्छ र मर्यादित नभएको बताएका थिए।
‘अधिकांश स्थानमा सुरक्षाकर्मीले मतदान केन्द्रमा खटिएका कर्मचारी, मतपेटिकालगायत निर्वाचन सामग्री छाडेर हिनेको’ जानकारीसहित उनले आयोगलाई पत्र पठाएका थिए।
यसपछि आयोगले बुढीगंगामा पुन: मतदान गर्ने निर्णय गर्दै प्रजिअ र प्रहरी प्रमुखहरू परिवर्तन गर्न सिफारिस गरेको थियो।
यहाँ पहिले प्रजिअ उपेन्द्रराज पौडेल, सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्ट र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा कार्यरत थिए।














