बैतडी – बैतडीमा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको छ । जिल्लाको पाटन नगरपालिकाले सुर्नया नदीबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको हो।
नदीबाट अवैध तरिकाले नदीजन्य पदार्थको उत्खनन भईरहेकाले अर्को सूचना नभए सम्मका लागि नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए। नगरकार्यपालिकाको प्रथम बैठकले सुर्नया नदीमा भईरहेको प्राकृतिक श्रोतको दोहन रोक्न यो निर्णय गरेको हो।
सूचना जारी गर्दै नगरकार्यपालिकाको बैठक निर्णय अनुसार नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको र सूचनाको अवज्ञा गरेमा कानुन अनुुसार कारवाही हुने जनाइएको छ।
सुर्नया नदीबाट निर्वाध रुपमा ढुंगा, गिट्टी, बालुवा लगायतका सामग्री उत्खनन् हुँदा नदी प्रणालीमै समस्या आएकाले नगरपालिकाले यो निर्णय गरेको हो। नदीजन्य पदार्थको व्यवस्थित तरिकाले उत्खननका लागि नगरपालिकाले कार्यविधि बनाउने र त्यसपछि ठेक्का प्रणाली मार्फत नदीजन्य पदार्थको उत्खनन गर्न दिने तयारी भएको छ।
नगरपालिकाले नदी क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्दा निश्चित मापदण्ड बनाउने र त्यसपछि मात्रै उत्खनन गर्ने कार्य शुरु गर्ने र जथाभावी भईरहेको दोहनलाई रोकेर करको दायरमा ल्याईनेछ।
नगरपालिकाले ठेक्का प्रणाली मार्फत निश्चित मापदण्डका आधारमा ढुंगा, बालुवा, गिट्टी उत्खनन गर्न दिनेछ। यसका लागि मापदण्ड बनाइने पाटन नगरपालिकाले जनाएको छ।