बाजुरा – बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। सोही अनुसार केही दिनअघि राजनीतिक दलहरुबीच असार पहिलो साताभित्रमा नै निर्वाचन गराउने भन्ने विषयमा समझदारी भएको छ। तर, मुख्य निर्वाचन अधिकृतको कार्यालयले मिति घोषणा गरिसकेको छैन।
बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सुरक्षाका हिसाबले सम्पूर्ण तयारी गरिसकेको बताएका छन्। ‘दलहरु पनि असार पहिलो साताभित्रमा चुनाव गर्ने विषयमा सहमत भइसकेका छन्,’ उनले भने, ‘मुख्य निर्वाचन अधिकृतको कार्यालयले अब जेठ भित्रमा नै मिति घोषणा गर्ने गरी तयारी गरिरहेको छ।’ जेठभित्रमा जसरी पनि मिती घोषणा गरेर असारको पहिलो साता भित्रमा चुनाव गराउने विषयमा आवश्यक तयारी भइरहेको उनले बताए।
बाजुराको बुढीगंगा नगरपालिकामा वैशाख ३० गते भएको निर्वाचनका क्रममा सुरक्षा कमजोरी भएर मतदान प्रभावित भएको भन्दै निर्वाचन आयोगले त्यहाँ पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो।