अछाम – अछाममा यातायात सेवा बन्द गरीएको छ । आइतबार बिहान ७ बजेदेखि दुई दिनसम्मका लागि जिल्लामा यातायात सेवा बन्द गरिएको बताइएको छ।

पञ्चदेवल विनायकको वडा नम्बर ४ का १५ वर्षीय किशोर विनोद शाहीको हत्याका आरोपी अझैँ पक्राउ नपरेका भन्दै पाँच दलले प्रेस विज्ञप्ती निकाल्दै बन्दको घोषणा गरेका हुन्। घटनामा संलग्न व्यक्ति तथा हत्याका योजनाकार समेतका नाममा किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भइसकेको महिनौँ दिन बितिसक्दा पनि उनीहरुलाई न्यायिक हिरासतमा नलिइएको भन्दै यातायात बन्दको घोषणा गरिएको विज्ञप्ती उल्लेख छ।


नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा शनिबार प्रेस विज्ञप्ती जारी गरेको हो। कानुनी राज्यको मान्यतालाई आत्मसात गर्दै दोषीलाई यथाशीघ्र हिरासतमा लिई निष्पक्ष अनुसन्धान गर्न माग गर्दै १९ र २० गते (आज र भोलि) जिल्लामा सम्पूर्ण सवारी साधन बन्द गरिएको विज्ञप्तीमार्फत जनाइएको छ।
गत जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्दपछि शाही बेपत्ता भएका थिए। जेठ २१ गते बिहान १० बजे मध्य पहाडी राजमार्गमा सो नगरपालिकाको वडा नम्बर ४ स्थित कुच्चीको भिरको खोँचमा उनको शव फेला परेको थियो। मृतक किशोरका आफन्तले काँग्रेसको योजना अनुसार हत्या भएको आरोप लगाएका छन्।
