

ललितपुर – केन्यासँगको क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली भदौ ६ गते केन्या प्रस्थान गर्ने भएको छ । घरेलु टोली केन्यासँगको टी–ट्वान्टी र एकदिवसीय सिरिजका लागि नेपाली टोली २२ अगष्टमा केन्याको नैरोबी जाने भएको हो ।
नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले केन्याका लागि चार वैकल्पिकसहित २० खेलाडी त्यसतर्फ जाने जानकारी दिए।
नेपालले केन्यासँग पाँच खेलको टी–ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज केन्याको राजधानी नैरोबीमा खेल्नेछ ।

नेपालले सुरुआतमा पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । पहिलो टी–ट्वान्टी भदौ ८ गते हुनेछ। दोस्रो ९, तेस्रो ११ र चौथो १२ गते हुने तालिका छ।
यस्तै अन्तिम टी–ट्वान्टी भदौ १३ गते हुनेछ। लगत्तै नेपालले ३ खेलको एकदिवसीय सिरिज पनि खेल्नेछ। पहिलो एकदिवसीय भदौ १७ गते, दोस्रो १८ र अन्तिम एकदिवसीय २० गते हुनेछ ।
केन्या भ्रमणका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ। टोलीमा कप्तान लामिछानेसहित उपकप्तान रोहित पौडेल, विकेट किपर आरिफ शेख,दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, देव खनाल, आदिल आलम र करण केसी छन्।
पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेको टिममा सोमपाल कामी,बसिर अहमद, अर्जुन साउद , पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव पनि छन्। यस्तै जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर शाह चार जनालाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ ।
नियमित टिममा पर्दै आएका विकेट किपर विनोद भण्डारी र ब्याट्सम्यान कुशल भुर्तेल अटाएका छैनन् । युवा विकेट किपर अर्जुनले भने पहिलो पटक टोलीमा परेर केन्यासँग डेब्यु गर्दैछन्।
