

अछाम – अछाममा बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नपा–७ पुल्लेतोलाकी ४५ वर्षीया मन्नु कामीको हत्या आरोपमा उनका श्रीमान पदम कामी (पैलु) पक्राउ परेका हुन् । यही साउन ११ गतेको रात हत्या गरेर फरार भएका ५४ वर्षीय पदमलाई बुधबार प्रहरीले कञ्चनपुरबाट पक्राउ गरिएको छ ।
उनलाई कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीका अनुसार मृतकका तर्फबाट लक्ष्मण कामीको जाहेरीले पदमलाई पक्राउ गरिएको हो ।
उनलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी डाँगीले बताए ।
