फौजी किराले मकैबाली नष्ट

Image
फाइल तस्बिर
maya metro

तनहुँ – जिल्लाकाे व्यास नगरपालिका-१३ मा फौजी किराको प्रकोपका कारण किसानले लगाएको मकैबाली नष्ट गरेको छ।

मकैको घोगा लाग्ने समयमा किराले खाएर नष्ट गरेपछि किसान चिन्तित भएका उनीहरु समस्यामा परेका हुन्।

nisarga

करिब १० रोपनी क्षेत्रफलमा लगाएको मकैबाली किराले नष्ट गरिदिएको स्थानीय किसान मेघनाथ आचार्यले जानकारी दिए। ‘घोगा लाग्ने समयमा किराले मकै नष्ट गरिदियो। यसअघिका दुई वर्षसम्म लगातार फौजी किराले मकै नष्ट गरेपछि घाटा ब्यहोर्नुपरे पनि यसपटक केही होला भनेको फेरि उस्तै भयो’, उनले भने।

राम्रो मूल्य पाउने आशामा हिउँदे मकैखेती लगाए पनि चमरा काढ्ने र घोगा हाल्ने समयमा एकाएक फौजी किरा आएर नष्ट गरिदिएको उनीहरूको भनाइ छ।

किराको रोकथामका लागि पटकपटक औषधि प्रयोग गरे पनि समाधान गर्न नसकिएको जनाइएको छ। सधैँ यस्तै बाली नष्ट हुन थालेपछि अर्को वर्षदेखि घाँस लगाउने योजनामा त्यस क्षेत्रका किसान रहेका छन्।

पन्ध्र वर्षसम्म लगातार वैदेशिक रोजगारमा पसिना बगाएर अब आफ्नै देशमा कृषि पेशा गर्ने सोच बनाएर बसे पनि उपलब्धि नदेखिएको किसान आचार्यको भनाइ छ।

कति विदेश बस्ने भनेर अब आफ्नै परिवारसँग बसेर कृषि पेशा गरौँ भनेर अँगाल्दा घाटामात्रै भोग्नुपरेको उनको दुःखेसो छ। उनले मकैखेती सँगसँगै कोदोखेतीका साथै गाईपालन पनि गर्दै आएका छन्।

मकैसँगै कोदोमा पनि फौजी किराले नोक्सान पुर्याएको छ। मकै र कोदोबालीमा किराले नष्ट बनाएपछि सम्बन्धित कार्यलय वडाको कृषि प्रविधिक, नगरपालिकामा र कृषि ज्ञान केन्द्रमा जानकारी गराउँदा कृषि ज्ञान केन्द्रले औषधि दिनेबाहेक अन्य केही सहयोग नपाएको किसानको गुनासो छ।

स्थानीय अर्का किसान तिलकुमारी आचार्यले पनि बर्सेनि फौजी किराले मकैबाली नष्ट हुँदा घाटा व्यहोर्नुपरेको बताए। किसानलाई घाटा पर्दा कुनैपनि निकायबाट सहयोग नपाउँदा दुःख लागेको उनले बताए। बिहान उठेर मकैबारी हेर्दा निकै उराठ लाग्ने गरेको किसान बताउँछन्।

व्यास नगरपालिकामा दक्ष प्राविधिक नहुँदा किसानले समस्या भोग्नुपरेको ब्यास नगरपालिका-१३ का वडाध्यक्ष वसन्तबहादुर आलेले बताए।

कृषिखेती गर्ने किसानले भरिएको वडा भएपनि सधैँ किसानले नोक्सान व्यर्होनुपरेको उनले बताए। दीर्घकालीनरूपमा कसरी समाधान गर्न सकिन्छ भनेर गम्भीरताका साथ लागिएको छ। उनले भने,’किसानलाई राहत दिलाउनका लागि आफूले पनि पहल गरिरहेको छु।’

रासस