नायक पल शाहलाई बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद, बलात्कारको मुद्दामा पाए सफाइ

Image
maya metro

काठमाडौं – किशोरी बलात्कारको अभियोग लागेका नायक पल शाहलाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ ।  जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन् ।

अभिनेता शाहका पक्षबाट ६ जना अधिवक्ताले बहस गरेका थिए । मुलुकी अपराध संहिता २०७४ अनुसार शाहले बाल यौन दुरुपयोग गरेको ठहर गरेको हो । बलात्कार मुद्दामा भने उनले सफाइ पाएका छन् ।

nisarga

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि उक्त फैसला गरेका हुन् । यस्तै अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ ।

एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् ।

नाबालिग गायिकाले अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेकी थिइन् । त्यही बयानलाई आधार मानेरअदालतले शाहले बालयौन दुरुपयोग गरेको ठहर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ गते जाहेरी दर्ता गराएका थिए । जाहेरीमा म्युजिक भिडियो सुटिङका क्रममा पटकपटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको उल्लेख गरिएको थियो । तनहुँमा करणी हुँदा उनी १६ वर्ष मुनि रहेको जाहेरीमा उल्लेख थियो ।

जाहेरी दर्ता भएपछि फागुन १५ मा शाह प्रहरीको सम्पर्कमा आएका थिए । किशोरीले फागुन १६ मा पूर्वी नवलपरासी प्रहरीमा पनि उस्तै प्रकृतिको जाहेरी दिइन् । प्रहरीले अदालतबाट गत फागुन १५ गते सात दिन, २२ गते १२ दिन र चैत ४ गते ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो । शाहलाई फागुन २४ मा पूर्वी नवलपरासी लगेर बयान लिइएको थियो । उनीविरुद्ध त्यहाँ पनि जबर्जस्ती करणीको मुद्दा दर्ता भइसकेको छ ।

शाहविरुद्ध चैत ८ मा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । तनहुँका जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले चैत १० मा पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका थिए ।

जबर्जस्ती करणी मुद्दामा मतियार बनेको भन्दै अभियोग दर्ता गरिएका शाहका म्यानेजर कृष्ण जोशी भने १ लाख रुपैयाँ धरौटीमा तारिखमा छुटिसकेका छन् । पूर्पक्षको लागि कारागार चलान गर्ने तनहुँ अदालतको आदेशविरुद्ध पल शाह पक्षका कानुन व्यवसायीले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको थियो ।