बैतडीको पञ्चेश्वरमा पुलको माग

Image
maya metro

बैतडी – महाकाली करिडोरको स्थलगत अवलोकन गर्न बैतडीको पञ्चेश्वर आईपुगेका नेपाली कांग्रेसका नेता रमेश लेखकसँग पञ्चेश्वरका स्थानीयले करिडोरसँगै महाकाली नदीमा पुलको माग राखेका छन् ।

महाकाली नदीमा पुल नहुँदा डुङ्गामार्फत जोखिम मोलेर नेपाल–भारत यात्रा गर्नुपरेकाले पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका स्थानीयले नेता लेखकसँग महाकाली नदीमा झोलुङ्गे पुल निर्माणका लागि पहल गरिदिन माग गरेका हुन् ।

nisarga

‘जनताको साथमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधि भएर बैतडी आइपुग्नुभएका नेता लेखकले भेटका क्रममा महाकाली नदीमा झोलुङ्गे पुल निर्माणका लागि भारतीय दूतावास र परराष्ट्र मन्त्रालयमार्फत दुई देशबीच छलफल गर्ने आश्वासन दिएका छन् ।

नेता लेखकले पञ्चेश्वर परियोजनाअन्तर्गतको ड्याम साइडको समेत अवलोकन गरेका छन् ।

पञ्चेश्वरका स्थानीयवासीले महाकाली करिडोर र नदीमा झोलुङ्गे पुलका बारेमा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै नेता लेखकले महाकाली करिडोर निर्माणमा स्थानीयवासीले पनि चासो दिनुपर्ने बताएका छन् ।

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको किङ्करसम्म ४२५ किलोमिटर लामो महाकाली करिडोरको हालसम्म १२५ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । करिडोरको करिब ५१ प्रतिशत हिस्सा बैतडीले ओगटेको छ । २०८० सालमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोरोना महामारीलगायतका कारण काममा ढिलासुस्ती भएको छ ।