पल शाह मुद्दाको आज सुनुवाइ हुने

Image
maya metro

तनहुँ – अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालतमा आज सुनुवाइ हुने भएको छ । भदौ १५ सुनुवाइ हुने भनिए पनि असोज २ गतेको लागि पेशी सरेकोले आज सुनुवाइ हुने भएको हो ।

अदालतबाट अभिनेता शाहलाई विना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने अभिनेता शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले बताएका छन् । नवलपुर जिल्ला अदालतले भदौ २१ गते बलात्कारको मुद्दामा भने शाहलाई सफाइ दिएको थियो भने यौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद सजाएँ, दश लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको थियो ।

nisarga

गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए ।

शाहका विरुद्ध नवलपुरमा पनि जबरजस्ती करणी गरेको भनी अर्को जाहेरी परेको थियो । उक्त अभियोगमा तनहुँ जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गराएपछि शाहको निवेदन अदालतले अस्वीकृत गरेको थियो । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उनका बुबाले समेत दुवै अदालतमा बलात्कार हैन भनी बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ । शाहलाई धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने आज फैसला आउन सक्ने बताइएको छ ।