अछाममा पहिरोमा पुरिएका २२ जनाकै शव निकालियो,१४ जना बालबालिका

Image
maya metro

अछाम – अविरल वर्षाका कारण पहिरोले घर भत्किएर पुरिएका २२ जना सबैको शव निकालिएको छ । आइतबार बिहान तुर्माखाँदका १३ वर्षीय सुन्दर शाहीको शव भेटिएसँगै एकै रातमा पहिरोका कारण २२ जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये १४ जना बालबालीका रहेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्ले पहिरोमा परी १४ जना बालबालिकाहरुले ज्यान गुमाएको पुष्टि गरेको हो।

शुक्रबार चार स्थानमा भएको घटनामा शनिबार दिनभर र आइतबार बिहान गरेर स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा २२ वटा शव निकालिएको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत मिनराज आचार्यले जानकारी दिएका छन् ।

nisarga

घर माथिबाट आएको पहिरोले घर पुरिँदा तुर्माखाँद गाउँपालिका–५ नाडामा नौजनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, कमलबजार नगरपालिका–६ वीरपथमा सातजना र सोही नगरपालिका–८ डुँगालामा पाँचजनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ ।

नाडामा ४५ वर्षीय नेत्र शाही, ३५ वर्षीया मनिषा शाही, १७ वर्षीया विमला शाही, १६ वर्षीया जानकी शाही, १७ वर्षीया कल्पना शाही, एक वर्षीया करिष्मा शाही, १३ वर्षीया सुन्दर शाही, २० वर्षीया भावना शाही र ३ वर्षीया नेलिना शाहीको मृत्यु भएको पुष्टि भएको छ ।

शुक्रबार राती करिब तीन बजेतिर घर माथिबाट पहिरोले नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर भत्किएपछि दुई घरका नौ जनाको ज्यान गएको स्थानीय जनकबहादुर शाहीले जानकारी दिएका छन् ।

यस्तै, कमलबजार नगरपालिका–६ विरपथमा इन्द्र परियार घर पहिरोले पुरिँदा ३० वर्षीया अमृता कामी, १७ वर्षीया समीता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरु कामीको मृत्यु भएको पुष्टि भएको छ । उक्त घटनाका सातजना घाइतेको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

यस्तै, कमलबजार नगरपालिका–८ डुँगालामा थिरे दमाइको घर भत्केर २६ वर्षीय गंगे दमाई, २३ वर्षीया भना दमाई, सात वर्षीया डिक्रा दमाई, चार वर्षीया कल्पना दमाई र तीन वर्षीया सृष्टि दमाईको मृत्यु भएको पुष्टि भएको छ ।

यस्तै, शनिबार नै ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा पहिरोले घर पुरिएर दुई वर्षीया नवीन बुढाको मृत्यु भएको थियो । घटनामा ६५ वर्षीय हर्क बुढा, २५ वर्षीय चन्द्रादेवी बुढा, १२ वर्षीया धर्म बुढा गम्भीर घाइते भएपछि उद्धार गरेर हेलिकप्टरमार्फत सुर्खेत पुराइएको छ । सोही गाउँपालिका–१ ढकारीमा खोलाले बगाउँदा मोती बुढा जैसी बेपत्ता अवस्थामै रहेको र खोजिभइरहेको बताइएको छ ।