Attariya Hospital Pvt.Ltd.

चुनावी आश्वासनमा सीमित दोधारा–चाँदनी पक्की तटबन्ध

padma
milan sunchadi

कञ्चनपुर – दोधारा–चाँदनी भन्नेबित्तिक्कै डुबान र कटान हुने क्षेत्र भन्ने धेरैको बुझाइ हुन्छ । एकातिर महाकाली र अर्कोतिर जोगबुडा नदीले घेरिएको यो क्षेत्रमा हरेक बर्खामा डुबानको समस्या भइरहन्छ । महाकालीमा निर्माण भएको वर्षौं पुरानो तटबन्ध जीर्ण भएसँगै यहाँका बासिन्दाको त्रास झन् बढ्दो छ । अर्कोतर्फ जोगबुडाको रूप पनि बर्सेनि विकराल बन्दै गएको छ ।

महाकाली किनारमा दोधारा–चाँदनीतर्फ तीन दशकअघि निर्माण भएको तटबन्ध । तस्बिर : भवानी/कान्तिपुर
टापु नगरपालिकाका रूपमा चिनिने दोधारा–चाँदनी क्षेत्रलाई डुबान र कटानबाट जोगाउन दुवै नदीमा स्थायी खालको तटबन्ध निर्माण गर्ने भनेको पनि धेरै भयो । झन्डै तीन दशकअघि जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था जाइकाले निर्माण गरेको २१ किलोमिटर तटबन्ध जीर्णसँगै होचो समेत भयो । यसले दोधारा चाँदनी जोगाउन बलियो खालको तटबन्ध निर्माणको कुरा उठेको हो ।

‘अहिले सबै उम्मेदवारले तटबन्ध हामी बनाउँछौं भनिरहेका छन्,’ राष्ट्रिय पञ्चायत सदस्यसमेत रहेका दोधारा–चाँदनीका स्थानीय इन्द्रबहादुर खत्रीले भने, ‘चुनावका बेला सबैमा होडबाजी चल्छ, त्यसपछि वास्ता गर्दैनन् ।उनका अनुसार २०४४ अघिसम्म महाकालीको एउटा भंगालो बीच बस्तीमा बग्थ्यो । राजा वीरेन्द्र आफैं उक्त क्षेत्रमा पुगेपछि तटबन्ध निर्माणका लागि गुरुयोजना बन्यो । त्यसपछि तटबन्ध निर्माणको काम अघि बढ्यो ।

Siddi ganesh

खत्रीका अनुसार त्यतिबेला दोधारा–चाँदनी वा महेन्द्रनगरमा समेत बाँध निर्माणका लागि उत्खनन तथा ढुवानी गर्ने साधनहरू थिएनन् । तत्कालिन भारतको उत्तर प्रदेशका उद्योगमन्त्री एनडी (नारायण दत्त) तिवारीलाई भेटेर ट्रकदेखि लोडरहरू सहयोग मागेको खत्रीले बताए । त्यसपछि नै बाँध निर्माण भएको थियो । उक्त बाँध कमजोर भएका कारण महाकालीको बाढी ठाउँठाउँमा भत्काएर बस्तीमा पस्ने गर्थ्यो । त्यसपछि २०५१ मा जाइकाले ग्याबिन जालीमा ढुंगा भरेर तटबन्ध निर्माण गरेपछि दोधारा–चाँदनीवासीलाई राहत मिलेको हो । उक्त बाँध जीर्ण भएकपछि यहाँका स्थानीय चिन्तामा छन् ।

गत वर्ष कात्तिकमा महाकालीमा भीषण बाढी आउँदा जाइकाले बनाएको बयलबन्दको बाँधको माथिबाट बाढी बस्तीमा पस्न खोजेको थियो । तत्काल ग्राभेल भरेर बाढी बस्तीमा पस्न रोकिएको हो । त्यतिबेला महाकालीमा पानीको बहाव हालसम्मकै बढी ५ लाख ४७ हजार क्युसेक मापन गरिएको थियो । ‘पुरानो बाँध ठाउँठाउँमा होचो भइसकेको छ, फेरि त्यस्तो बाढी आए जोगिन गाह्रो छ,’ दोधारा–चाँदनी नगरपालिका १० का धनबहादुर बुढा भन्छन्, ‘तटबन्धको जाली पनि खिया लागेर धेरै ठाउँमा टुटेको छ ।’

अहिले सबै राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारहरूले समेत दोधारा–चाँदनीलाई प्रचारप्रसारमा प्राथमिकता दिएका छन् । वडा भेलादेखि टोल भेला तथा कार्यकर्ता भेटघाट र घरदैलोका कार्यक्रमहरू पनि दोधारा–चाँदनीमै बढी भइरहेका छन् । हरेक निर्वाचनमा दोधारा–चाँदनी निर्णयक हुने भएकाले पनि उम्मेदवारहरूले यसलाई प्राथमिकतामा राखेका हुन्छन् ।

साविकको दोधारा र चाँदनी गाविसलाई गाभेर नगरपालिका बनाईएको हो । भारतसँग सीमा जोडिएको उक्त नगरपालिकामा २०७८ को जनगणनाअनुसार ४३ हजार ४८६ जनसंख्या छ । कञ्चनपुर क्षेत्र नं. ३ मा पर्ने दोधारा–चाँदनीमा २६ हजार ८५२ मतदाता छन् । क्षेत्र नं. ३ मा ९७ हजार ८२२ मतदाता छन् । प्रतिनिधिसभामा क्षेत्र नं. ३ मा १२ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दिएकी जानकी देवी गिरी मात्रै दोधारा–चाँदनीकी हुन् । अन्य सबै उम्मेदवार महाकाली वारिका हुन् ।

दोधारा–चाँदनीमा २०२० देखि बस्ती विस्तार भएको हो । राजा महेन्द्रले सीमा क्षेत्रमा पेन्सनप्राप्त सेनालाई बसाउने योजनाअनुसार यहाँ पनि पूर्व सेनासँगै अन्यले वन फडानी गरेर बसोबास गरेका हुन् । बस्ती विस्तार हुँदा यहाँ बर्सेनि डुबानको समस्या थियो । महाकालीको बाढी पुरै बस्तीमा पस्दा रुखमा चढेरर ज्यान जोगाउनुपर्ने अवस्था व्यहोरेको स्थानीय बताउँछन् । त्यतिबेला बाढीबाट जोगिन अधिकांशले रुखमाथि नै टहरा बनाएका थिए भने कतिपयले खम्बा गाडेर छाप्रो बनाउथे ।

कान्तिपुर दैनीकबाट

Nawadurga
Leave A Reply

Your email address will not be published.