गोदावरी–७ मा लैङ्गिक हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-७ मा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।

यार्ड, दलित महिला अधिकार मञ्च नेपाल र महिला जागरण तथा विकास केन्द्रको संयुक्त आयोजनामा चण्डेश्वरी आधारभूत विद्यालयमा कार्यक्रम गरिएको हो।

nisarga

कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य चक्रबहादुर ऐर प्रमुख अतिथि रहेका थिए भने यार्ड समूहकी अध्यक्ष निर्मला खड्काले कार्यक्रमको सभापतित्व गरेकी थिइन्।

कार्यक्रममा सहभागी महिलाहरूले लैङ्गिक हिंसाविरुद्ध सचेतना फैलाउने उद्देश्यले देउडा प्रस्तुत गरेका थिए।

कार्यक्रममा दलित महिला अधिकार मञ्चकी उपाध्यक्षसमेत रहेकी शिक्षक कौशिला नेपालीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउनुको उद्देश्य, महिला हिंसाका कारण र यसको अन्त्यका लागि आवश्यक सचेतनाबारे जानकारी गराएकी थिइन्।

उनले महिला हिंसा कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताउँदै यसको अन्त्यका लागि सबैले सचेत हुनुपर्नेमा जोड दिइन्।

कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य ऐरले समाजबाट लैङ्गिक हिंसा अन्त्य हुनुपर्ने बताए। महिलाहरू चुलोचौकोमा मात्र सीमित नभई बाहिरी सामाजिक गतिविधि र अवसरमा समेत सहभागी हुनुपर्ने उनको भनाइ थियो। लैङ्गिक हिंसा न्यूनीकरण तथा अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्ने उनले बताए।

त्यस्तै विशिष्ट अतिथि वडा सदस्य दुर्गा साउँदले महिलाहरूलाई पर्याप्त अवसर प्रदान गर्नुपर्ने बताइन्। अवसर पाए महिलाहरूले पनि विभिन्न क्षेत्रमा उल्लेखनीय काम गर्न सक्ने भन्दै उनले महिलालाई अघि बढ्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्।

यार्डकी सहजकर्ता कल्पना विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला जागरण तथा विकास केन्द्रकी सामाजिक परिचालक रूपा विकले गरेकी थिइन्।

नाराजुलुससहित र्यालीको समेत आयोजना गरिएको कार्यक्रममा महिला अधिकारको क्षेत्रमा योगदान पुर्याउने महिलाहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा आर्थिक सहयोग के एन एच र एइआइएनले गरेका थिए। कार्यक्रममा स्थानीय महिलाहरूको सहभागिता रहेको थियो।