सुदूरपश्चिम रोयल्सको ट्रफी यात्रा अछामको बैजनाथ धामबाट सुरु

Image
maya metro

अछाम – नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी यात्रा अछामको बैजनाथ धामबाट सुरु गरेको छ ।

सुदूरपश्चिम रोयल्सले एनपीएलको उपाधि जितेपछि सुदूरपश्चिमका नौवटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रमअनुसार शनिबार बिहान अछामको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बैजनाथ धाममा पूजाआराधना र स्वस्तिवाचन गर्दै ट्रफी यात्रा सुरु गरेको हो ।

nisarga

बैजनाथ मन्दिरदेखि साँफेबगरसम्म ट्रफीसहित र्‍याली निकालिएको थियो । र्‍यालीमा क्रिकेट खेलप्रेमी, समर्थक तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

अछामबाट सुरु भएको ट्रफी यात्रा शनिबार नै बाजुरा पुग्नेछ । यस्तै, मङ्सिर १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी, १६ गते दार्चुला, १७ गते बझाङ र १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी पुर्‍याइनेछ ।

मङ्सिर १९ गते कैलाली र कञ्चनपुरमा ट्रफी टुर हुनेछ । कैलालीको टीकापुर पार्कबाट सुरु हुने यात्रा चिसापानी, लम्की, घोडाघोडी ताल हुँदै अत्तरियासम्म पुग्नेछ । त्यसपछि कञ्चनपुरको महेन्द्रनगरदेखि दोधारा चाँदनी पुलसम्म र्‍याली निकालिनेछ ।

ट्रफी टुरको अन्तिम दिन मङ्सिर २० गते धनगढीमा र्‍यालीसहित सांगीतिक कार्यक्रम आयोजना गरी समापन गरिने रोयल्सले यसअघि सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

यसअघिका दुई संस्करणमा फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको रोयल्सले तेस्रो संस्करणको उपाधि जितेको थियो ।