ओलीको उत्तेजित भाषणले निर्णय उल्ट्याउनुको रहस्य खुल्यो : रावल

Image
maya metro

अत्तरिया – एमाले नेता भीम रावलले कञ्चनपुरको चुनावी सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उत्तेजित भाषणले अछामी जनताको निर्णय उल्ट्याउनुको रहस्य खुलेको बताएका छन् । कञ्चनपुरको चुनावी सभामा डडेलधुरामा नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई एमालेले समर्थन गर्ने घोषणा गर्दैगर्दा दर्शकदीर्घाबाट ’भीम रावल, भीम रावल’ नारा लागेपछि अध्यक्ष ओली आक्रोशित बनेका थिए।

अध्यक्ष ओलीले जवाफ दिँदै भने, ’भीम रावलको तपाईलाई किन चिन्ता, ४८ सालदेखि एक छिन मुख खाली छैन, बूढो भइसक्नु भयो, बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनु पर्दैन, एउटै भीम रावल, भीम रावल, केको खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरु हुनुहुन्छ नि त सुदूरपश्चिममा थुप्रो रावलहरुलाई अगाडि बढाइन्छ।’

nisarga

रावलले प्रतिक्रिया दिँदै ओलीको उक्त अभिव्यक्तिले उनीभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदांगो भएको जनाएका छन्। रावलले ४८ सालदेखि निरन्तर सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री भएका ओलीलाई पुनः किन उठेको भनेर प्रश्न गरेका छन्।

त्यस्तै आफूलाई बूढो नेता भन्ने ओलीले बढी उमेरका व्यक्तिलाई किन टिकट दिएको भनेर समेत रावलले प्रश्न गरेका छन्, ‘म ६७ वर्ष लागेकालाई ‘बूढो भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ? म भन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनु भयो ?’ उनले भने।

उनले ओलीलाई अछाम लगायत देशका विभीन्न भागमा थुप्रै ओली भएको तर तिनलाई तत्काल पार्टी अध्यक्ष किन नबनाउने? भनेर प्रशन गरेका छन् ।