बाजुरामा वैशाखयता कुपोषणबाट ५ बालबालीकाको मृत्यु

Image
फाइल फोटो
maya metro

बाजुरा – कुपोषणको कहरका रुपमा चिनिने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोट गाउँमा वैशाखयता मात्रै ५ बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय स्वास्थ्यकर्मी जानकी न्यौपाने ती बालबालिकाको मृत्यु हुनुमा कुपोषण मुख्य कारण रहेको बताउँछिन् । स्थानीय जानकी विकको तीन वर्षको छोरा टीका बिक, शान्ति विकको ४ वर्षको छोरा प्रकाश विक, मदन विककी १२ दिनकी छोरी, मुना विकको १३ दिनको छोरा र बाटुली विकको २१ दिनको छोराको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । बच्चा मात्र होइन आमाहरु पनि कुपोषयणबाट ग्रस्त छन् ।

nisarga

मुक्तिकोटको आधारभुक्त स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी कुपोषणका कारण मृत्यु हुनेको संख्या अझै धेरै हुन सक्छ । प्रत्येक वर्ष बालबालिकाको मृत्यु भइरहँदा पनि राज्यको ध्यान भने जान सकेको छैन ।

गतवर्ष विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि गाउँपालिकाले कुपोषणका बारेमा अध्ययन गरेको थियो । मुक्तिकोट गाउँका ३०८ परिवारमा कुपोषणको दर निकै रहेको प्रतिवेदनमा उल्लेख गरेको थियो । स्वास्थ्यकर्मी टोली गाउँ पुगेर चेकजाँच गर्दा ३४३ जना कुपोषित रहेको गाउँपालिकाले जनाएको थियो । जसमा २३ जना भने कडा कुपोषण र ५५ जना मध्यम कुपोषणको चपेटामा रहेको पाइएको हो ।

२४३ जना सुत्केरी आमामध्ये २९ जना अति कुपोषित र ७१ जना मध्यम कुपोषित रहेको पाइएको गाउँपालिकाका सूचना अधिकारी कुबेरबहादुर शाही बताउँछन् । त्यस्तै १० देखि १४ वर्षसम्मका किशोर र किशोरीलाई जाँचगर्दा १२ जना अतिकुपोषित, ५३ जना मध्यम र ५६ जना सामान्य कुपोषित रहेको स्वास्थ्यकर्मीले बताएका छन् । १५ वर्षदेखि १९ वर्षका किशोर र किशोरीलाई जाँच गर्दा २ जना अति कुपोषित, ३० जना मध्यम, २९ जना सामान्य कुपोषित रहेको पाइएको हो ।

स्वास्थ्य कार्यालय बाजुराका अनुसार मुक्तिकोटमा ४१ प्रतिशत बालबालिका कुपोषित छन् । मुक्तिकोटमा उच्च प्रजनन दर, उच्च बालमृत्यु दर, परिवार नियोजन को साधनको प्रयोग न्यून रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

अनलाइन खबरबाट साभार गरीएको