
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका अध्यक्ष जियानी इन्फान्टिनियोले कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट विश्व कप भएको दाबी गरेका छन् ।
फिफा काउन्सिलको बैठकपछि अध्यक्ष इन्फान्टिनियोले दर्शकको उपस्थिति, टिमको व्यवस्थापन र अन्य हिसाबले यो विश्व कप निकै उत्कृष्ट रहेको बताएका बीबीसीले जनाएको छ । उनले अहिलेसम्मकै उत्कृष्ट विश्व कप आयोजना गरेकोमा कतार सरकारलाई धन्यवाद पनि दिएका छन् ।

कतार जस्तो धार्मिक रुपमा अडिग देशमा समर्थकले खेलको मज्जा लिन पाएको, महिला रेफ्रीले खेल खेलाएको र लाखौँ विदेशीले कतार बसाइका क्रममा खुसी मनाएको लगायतका कारण विश्व कप अविस्मरणीय भएको उनको भनाइ छ । यो विश्व कपले फुटबललाई अझै विश्वव्यापी बनाउन ठूलो भूमिका खेलेको अध्यक्ष इन्फान्टिनियोले बताएका छन् ।
कतार विश्व कपको तयारीको क्रममा मानवअधिकार लगायतका केही विषय उठे पनि अहिले संसारभरका करोडौँ दर्शकले फुटबलको मज्जा लिइरहेकाले यस्ता विषयलाई उपयुक्त र सम्बन्धित ठाउँमा स्थान दिन फिफाका अध्यक्ष इन्फान्टिनियोले आग्रह गरेका छन् ।
विश्वकपले विश्वलाई एकताबद्ध गरेर फुटबलको अद्वितीय शक्ति सुदृढ बनाएको उनले बताए। आज बसेको फिफाको बैठकले आगामी विश्वकपको बजेटसमेत स्वीकृत गरेको छ। फिफाले करिब ९ अर्ब ७० करोड अमेरिकी डलर फुटबल लगानी गर्नेछ।
बैठकले फिफा क्लब विश्वकप मोरक्कोमा आयोजना गर्ने घोषणासमेत गरेको छ। ३२ टोली सहभागी हुने फिफा क्लब विश्वकप सन् २०२३ फेब्रुअरी १ देखि ११ सम्म आयोजना गर्ने फिफाले जनाएको हो। यस्को आयोजना मोरक्कोले गर्नेछ।
यसैबीच आगामी आइतबार हुने विश्वकप फुटबलको फाइनल खेल फिफाले यू-ट्युबबाट पनि प्रशारण गर्ने भएको छ। अर्जेन्टिना र फ्रान्सबीच आइतबार राति पौने ९ बजे हुने फाइनल खेलको बिइन स्पोर्टस च्यानलबाट प्रत्यक्ष प्रशारण हुने जानकारी फिफाले दिएको छ।
फिफाले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा हुने विश्वकप फुटबलको फर्म्याट परिवर्तन हुनसक्नेसमेत संकेत गरेको छ। हाल विश्वकपमा ३२ राष्ट्रमात्र सहभागी भएकोमा अब हुने विश्वकपमा थप १६ देश सहभागी गराउने फिफाको तयारी छ।






























