
बैतडी – बैतडीमा बादरको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । भान्सा कोठामा खाना पकाइरहेका बेला खाना खोस्न आएका बाँदरले आक्रमण गर्दा दोगडाकेदार गाउँपालिका –४, पीपलकोटकी ५० वर्षीय मीना भट्ट घाइते भएकी हुन् । घाइते भट्टको टाउकोमा छ वटा टाँका लगाइको छ ।
बाँदरको झुण्ड खाना खोस्न भान्सामा पसेकाबेला प्रतिकार गर्दा बाँदरले आक्रमण गरेर गम्भीर घाइते बनाएको पीडित महिलाका देवर सत्यदेव भट्टले बताए । मानव बस्तीमा बाँदरले आतङ्क मच्चाउन थालेपछि बैतडीको दोगडाकेदार –४, का स्थानीय त्रसित बनेका छन् ।

दोगडाकेदार गाउँपालिकासँगै जोडिएको बैतडीको दशरथचन्द नगरपालिकाका स्थानीयवासी पनि बाँदरका कारण पीडित बनेको बताएका छन् । दशरथचन्द नगरपालिका–४, ५, ६, ८ र १० नम्बर वडाका अधिकांश गाउँ बाँदरका कारण रित्तिएको मोहित भण्डारीले बताए ।



















