
बैतडी – बैतडीका शिक्षक धनबहादुर बिष्टको हत्या नै भएको निष्कर्ष नजिक प्रहरी पुगेको छ । पौष १ गते राति कृष्ण मावि छात्रवासमै शिक्षक बिष्टको हत्या भएको निष्कर्ष नजिक प्रहरी पुगेको हो ।
पौष १ गतेका दिन एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका शिक्षक बिष्ट पौष २ गते शनिबारका दिन मृत अवस्थामा फेला परेका थिए । सुर्नया गाउँपालिका २ ग्वानी घर भइ कृष्ण माविमा पढाउँदै आएका शिक्षक बिष्टको हत्या भएको भन्दै परिवारजनले शव बुझ्न मानेका छैनन्।

शिक्षक बिष्टको हत्या भएको भन्दै सोमबारदेखि बैतडीमा आन्दोलन चर्केपछि अनुसन्धानका लागि सीआइबीको टोली पुगेको थियो । अहिले पनि टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
शिक्षक बिष्टको हत्या भएकाले दोषी पत्ता लगाउनुपर्ने माग गर्दै शिक्षकका पेशागत संघसंगठनहरु पनि आन्दोलनमा उत्रेका छन् भने संघर्ष समिति गठन गरेर पाटन नगरपालिकामा तालाबन्दी समेत गरिएको छ ।
पाटन नगरक्षेत्रभित्रका विद्यालय लगातार दुई दिनदेखि बन्द रहेको अवस्थामा बिहिबार पनि बन्द रहने र जिल्लाभरीका शिक्षण संस्था बन्दका लागि आह्वान गर्ने निर्णय भएको संघर्ष समितिले जनाएको छ।



















