
बैतडी – बैतडीको पाटन नगरपालिका ६ मा पर्ने कृष्ण माविका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्त प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गर्दै बिहीबार हत्या अभियोगमा पक्राउ परेका पुर्चौंडी नगरपालिका ३ न्वादेउका प्रजा बोहरा र उनकी श्रीमती बिमला बोहरालाई सार्वजनिक गरेको हो ।बिमला बोहरा कृष्ण मावि पाटनको छात्राबास बस्दै आएकी थिइन् । उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो बर्षमा अध्ययन गरिरहेकी छन् ।
पौष १ गते राति शिक्षक बिष्टले बिमला बोहरामाथि अभद्र व्यवहार गरेको र त्यसको झोकमा उनका श्रीमान प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाएको प्रहरीको अनुसन्धानले देखाएको छ । पुष १ गते राति बिमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी र ढिलो गरेपछि प्रजा बोहराले खोजी गर्दा शिक्षक बिष्टले उनलाई अँगालो हालेको देखेपछि मुक्का हानेर ढलाएको हुँ । त्यसपछि उनको छाती र मुखमा हानेर हत्या गरेको हुँ,’ बोहराको बयान उदृत गर्दै प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाहीले भने ।

छात्रबासमै हत्या गरेका बिष्टको शवलाई घटना लुकाउन छात्रवासको पछाडि दुवै जना मिलेर फालेको प्रहरीको अनुसन्धानले देखाएको छ । घटनाका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए । घटनामा अरु संलग्नताका बिषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।
शिक्षक बिष्टको शव पौष २ गते दिउँसो फेला परेको थियो । मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । सो घटनाको अनुसन्धानका लागि सीआइबीको टोली समेत आएको थियो । शिक्षक बिष्टको हत्या भएकाले दोषी पत्ता लगाउनुपर्ने माग गर्दै शिक्षकका पेशागत संघसंगठनहरु पनि आन्दोलनमा उत्रीएका थिए ।



















