राजनीति सँगै व्यावसायबाट आम्दानी लिँदै शुक्लाफाटाका वडाध्यक्ष ऐर

Image
maya metro

कञ्चनपुर – शुक्लाफाटा नगरपालिका – १० का लालबहादुर ऐरले राजनीति सँगै व्यावसायिक कार्यलाई सँगसँगै जोडेका छन्। वडा नं १० मा दोस्रो पटक वडाध्यक्ष पदमा विजयी भएका ऐर घरमै पशुपछी फार्म सञ्चालन गरी आम्दानी गर्दै आएका छन्। फार्म सञ्चालनका लागि उनले ३० लाख लगानी गरेका छन्।

पाँच वर्षअघि देखि उनले बङ्गुर, बाख्रा र माछापालन गर्दै आएका छन्। उनले गत वर्ष रु छ लाखका बङ्गुर बिक्री गरेको बताए। उनका अनुसार माछा रु दुई लाख ५० हजार र बाख्रा एक लाख बढीको बिक्री भएको छ। अझै उनले फार्ममा माउ भाले गरी ३५ बङ्गुर र १६ पाठापाठी बिक्रीका लागि तयारी अवस्थामा रहेका छन्।

nisarga

फार्ममा उन्नत जातका २० बाख्रा पालिएका छन्। पोखरीमा झन्डै रु तीन लाख बढीका माछा बिक्रीका लागि तयारी अवस्थामा छन्। ‘राजनीति निःस्वाथ्र्य सेवा भावनाले गरिने पेसा भएकाले जहिले पनि खर्चको अभाव रहन्छ’ उनले भने ‘राजनीतिसँगसँगै व्यावसायिक कार्य गरे खर्चको व्यवस्था मिलाउन सकिने भएकाले पशुपछी फार्म सञ्चालन गरेका छौँ।’

फार्मबाट विगत वर्षहरुमा चाहेअनुसारकै आम्दानी भए पनि यस वर्ष एक पनि बङ्गुर बिक्री नहुँदा उनी चिन्तित छन्। ‘फार्ममा पालिएका बङ्गुरले दैनिक रु दुई हजार बढीको दाना (चारो) खाने गरेका छन्’, उनले भने ‘बिक्री एक पनि भएको छैन, ग्राहकको खोजी गर्दै हिँडेका छौँ, पाएका छैनौँ।’

लागत खर्च बढ्दै गएकाले बजारमा लागेको खर्च उठाउन पनि मुस्किल भएको छ । फार्ममा पालिएका बङ्गुर एउटैको मूल्य रु १५ हजारदेखि रु ३० हजारसम्म पर्ने गरेको छ। तौलका आधारमा बङ्गुर बिक्री हुने गरेका छन्। बाख्रा, खसी रु २० हजार माथिका रहेका छन्।

माछा भने प्रतिकिलो रु तीन सय ५० थोकमा बिक्री भइरहेको छ। बाख्रा र माछा भने सहज रुपमा बिक्री भइरहेको उनको भनाइ छ। फार्ममा पालिएका पशुपछीको रेखदेखका लागि एकजना कामदारलाई तलब दिएर उनले राखेका छन । फुर्सद भएका बेला उनी आफैँले बङ्गुर, बाख्राको खोर सफा गर्ने, दानापानी, घाँस खुवाउने कार्य गर्छिन्।

माछालाई चारो हाल्नेदेखि बजारमा लगेर बेच्ने कार्य उनी आफै गर्छन्। उनको फार्ममा चाइनिज हाँससमेत पालिएका छन् । हाल हाँसको सङ्ख्या भने थोरै रहेको छ । भविष्यमा स्थानीय जातका कुखुरा पाल्ने सोच उनको रहेको छ।

रासस