सुन्तला खेतीबाट एकैजनाले गरे ४५ लाख आम्दानी

Image
maya metro

वालिङ – यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गरेका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले सुन्तला बेचेर एकै वर्षमा ४५ लाख आम्दानी गरेका हुन्।

सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी ८९ रुपैयाँमा बिक्री भइरहेको उनले बताए। ‘बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ’, उनले भने, ‘हालसम्म करिब ४२ लाखको सुन्तला बिक्री गरिसकेको छु। अझै तीन लाख जतिको सुन्तला बोटमै छ।’

nisarga

गत वर्ष यही समय प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो। गत वर्षभन्दा यो वर्ष अधिक उत्पादन भएकाले अपेक्षित मूल्य नपाएको उनले बताए।

‘गतवर्षको तुलनामा यो वर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन’, उनले भने, ‘केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आशले शीतभण्डारमा सुन्तला भण्डारण गर्दा कुहियो। उल्टै घाटा लाग्यो।’ उनले स्याङ्जा शीत भण्डारमा ६१७ क्यारेट सुन्तला भण्डारण गरेका थिए। ३९० क्यारेन्ट सुन्तला कुहिँदा करिब सात लाख रुपैयाँ नोक्सान भएको उनी बताउँछन्।

२०३२ देखि तेजनारायण अधिकारीसहित पाँच जनाले स्याङ्जामा व्यावसायिक सुन्तला खेतीको सुरुआत गरेका जनाइएको छ । ‘बुबाले लगाउनुभएको ५०० बोटलाई बिस्तार गरी मैले २०६९ सालदेखि संरक्षण गर्दै थप्दै गएँ’, उनले भने, ‘अहिले मसँग दुई हजार २०० बोट सुन्तला छन्। तर सबै फलिसकेका छैन। सबैमा फल लाग्दा त करोडमाथि आम्दानी हुन्छ।’

चौध वर्ष कोरियामा रोजगारी गरेका अधिकारीले बगैँचा विस्तारमा ध्यान दिएका छन्। हाल उनीसँग एकसय ६० रोपनी क्षेत्रफलमा दुई हजार २०० सुन्तलाका बोट छन्। उनीप्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको सञ्चालक समितिको सचिव समेत थिए।

रासस