
अत्तरिया – डेउडा प्रतिष्ठान केन्द्रीय समितीको आयोजनामा धनगढीमा ऎतिहासिक डेउडा दिवस एवं ११३औं अन्तर्राष्ट्रिय नारी दिवस बिबिध साँस्कृतिक कार्यक्रमका साथ भब्यरुपले सम्पन्न भएको छ । डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दलबहादुर बोगटीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि बरिष्ठ डेउडा गायिका डिक्रा देवी बादी रहेकी थिईन् । डेउडा प्रतिष्ठानको स्थापना दिवसलाई डेउडा दिवसका रुपमा मनाउने अघिल्लो साधारणसभाको निर्णय बमोजिम डेउडा दिवस मनाइएको संस्थाका बरिष्ठ उपाध्यक्ष सुरत रावत(डोटेली कान्छा)ले बताए ।
उनले डेउडा प्रतिष्ठानलाई एकेडेमी रुपमा अघि बढाउन काली-कर्णालीका जिल्लाहरु ( सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश ) शाखा बिस्तार पश्चात बृहत सम्मेलन गरिने बताए। कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्ब परिषद सदस्य बरिष्ठ लोक डेउडा गायक यज्ञराज उपाध्याय , सुदूरपश्चिम साहित्य समाजका निबर्तमान अध्यक्ष २०७२ सालको मदन पुरस्कार बिजेता अग्रज साहित्यकार रामलाल जोशी , बहुचर्चित गीतकार साहित्यकार राजेन्द्र शाह बिपि , अग्रज पत्रकार एवं साहित्यकार धनराज पण्डित , महिला नेत्री धनगढी उपमहानगरपालिका पुर्ब कार्यपालिका सदस्य रत्ना बिष्ट , लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

संस्थाका बरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा) ले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव तोयनाथ भट्टले गरेका थिए । सु.प. साहित्य समाजको सभाहलमा भएको कार्यक्रममा उल्लेख्य सहभागीता रहेको कार्यक्रममा दर्जनौं डेउडाका स्रष्टा सर्जकहरुको सहभागीता रहेको थियो । सो अवसरमा विभिन्न कलाकारले आ-आफ्नो प्रस्तुति ,डेउडा खेल सहित साँझ दिप प्रज्ज्वलन गरिएको थियो ।






























