
धनगढी – कवितामा आधारित नेपालकै पहिलो रियालिटी शो पोयट आईडियलमा कैलालीकी मुनु अधिकारी उत्कृष्ट ६ जनामा परेकी छन् ।
सयौं प्रतिस्पर्धीहरुलाई उछिन्दै पोयट आईडियलमा छानिएकी मुनु अन्तिम १४ जनामा पनि उत्कृष्ट ६ जनाभित्र पर्न सफल भएकी हुन् । ‘मेरा आँखाहरु सायद मेरै मृत्युको साक्षी बस्न चाहेनन, म आफैले आफैलाई निर्धक्क मारेको हेर्न सकेनन’, यस्ता थुप्रै मर्मस्पर्शी कविताले उनले निर्णायकसंगै दर्शकहरुको मन जितेकी छन् ।

मान्छेका जीवन व्यथा, पीडा र प्रेम उनेर बनाएका मर्मस्पर्शी कविता मार्फत उनले सबैको मन जितेकी अधिकारी कैलालीको घोडाघोडी नगरपालिकाको सुख्खड बजारमा हुर्किएकी हुन् । म हत्यारा हूँ, चमेलीको रातो रिवन लगायतका शिर्षकमा उनका कविताहरुले सबैको मन छोएका छन् । कविता लेख्दाखेरी म आफैलाई पाउछु, उनी कविता लेख्नुको कारण सुनाउछिन ।
धनगढीको स्टेपिङ स्टोन ईंगलिस स्कुलबाट एसएलसी पास गरेकी अधिकारी दिल्लीमा सीएको पढाई पुरा गरिरहेकी छन् । अधिकारीले आफूलाई भोट गर्न संसारभरी छरिएर रहेका साहित्यअनुरागी नेपालीसंगै सुदूरपश्चिमेलीहरुसंग आग्रह गरेकी छन् । भन्छिन्, प्रतिस्पर्धामा सहभागी भएपछि जित्नु हार्नु त छर्दैछ, म छाप छोड्न चाहन्छु । जसले भोलि ईतिहास लेख्नेछ ।































