
काठमाडौँ, जेठ ३१ गते । सर्वसाधारण उपभोक्तामा प्याज किन्दा नै आँसु आउने अवस्था सिर्जना भएको छ । सरकारले बजेटमार्फत तरकारी तथा फलफूलजन्य वस्तु आयातमा १३ प्रतिशत भन्सार महसुल (भ्याट) वृद्धि गरेसँगै प्याजको भाउ आकासिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेसँगै प्याजको मूल्य वृद्धि भएको हो ।

आयातकर्ता व्यवसायीले आलु, प्याजमा नौ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर भुक्तानी गर्दै आएको थियो तर अहिले थप १३ प्रतिशत कर बुझाउनुपर्ने भएपछि प्याजको मूल्यमा वृद्धि भएकाले भान्छा महँगो हुने भएको छ ।
भारतबाट प्याज आयात गर्ने व्यवसायीले भन्सार बिन्दुमै भ्याट भुक्तानी गर्नुपर्ने भन्दै जेठ २१ गतेदेखि आलु तथा प्याजको आयात बन्द गरेको दाबी गरेका छन् तर बजारमा प्याजको अभाव छैन । मूल्य भने आकासिएको छ ।
असार १५/१६ गतेसम्म कालीमाटीमा प्याज प्रतिकेजी ३२/३५ रुपियाँमा कारोबार भएकामा २१ गते प्रतिकेजी ५० रुपियाँ र २२ गते ६० रुपियाँमा किनबेच भएको थियो । कालिमाटीभित्रै एक हप्तामै प्याजको मूल्य दोब्बरले वृद्धि भएर प्रतिकेजीकै ११० देखि ११५ रुपियाँ खुद्रा मूल्यमा बिक्री भइरहेको छ । कालीमाटीबाहिरका खुद्रा पसलमा प्याजको भाउ प्रतिकेजी १२५ रुपियाँदेखि १४० रुपियाँसम्म छ ।
आलु, प्याज आयात तथा निर्यात व्यवसायीले अहिले प्याज र आलुमा १३ प्रतिशत भ्याटलाई देखाउँदै बजारमा प्याजको कालोबजारी सुरु भइसकेको बताउँछन् । नेपाल कृषि उपज आलु, प्याज आधारित निर्यात तथा थोक बिक्रेता सङ्घले आलु तथा प्याज आयात औपचारिक रूपमा बन्दको घोषणा नगरे तापनि भ्याटकै कारण आयात नगरेको जनाएको छ ।
कृषि उपजमा यसअघि भ्याट छुट हुँदै आएको नयाँ बजेटमार्फत छुट खारेज गरिएको छ । जसले गर्दा स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भएर व्यवसाय गर्दै आएका व्यापारीलाई एकै पटक भ्याटमा जाँदा समस्या भएको छ ।















