
बाजुरा – बाजुरामा साउन लागेपछि अधिकांश गाउँ खाली हुन थालेका छन् । खेती लगाएर गाउँका सबै युवा रोजगारीका लागि धमाधम भारत जानथालेपछि साउनमा अधिकांश गाउँबस्ती दिनानुदिन खाली हुँदैगएका हुन् ।
बूढीगङ्गा नगरपालिका –१ डुँग्रीका स्थानीय युवा रविन्द्र नेपालीले, भारतमै रोजगारी गरेर गाउँमा परिवार पाल्नेगरेको बताए । उहाँ गत जेठमा मात्र असारे खेती लगाउन घर आउनुभएको हो । अहिले असारे खेती सकिएपछि काम गर्नकै लागि भारत जान थालेको बताए ।

यता केही रोजगारी मिल्दैन । गाउँमा केही सानो व्यवसाय गरौं भने पनि आफुसँग आयस्रोत छैन । गाउँमा बसेर केही व्यवसाय गरौं भने पनि आफुसँग अन्य कुनै उपाय छैन । घरमा व्यरोजगार बस्नुभन्दा असारेखेती लगाएर कामकै लागि भारत जान थालेको बताए ।
जिल्लाको हिमाली, बुढीनन्दा, स्वामिकार्तिक, जगन्नाथ, बडिमालिका, गौमुल बूढीगङ्गा, त्रिवेणी र छेडेदहलगायतका अधिकांश युवायवती कामको खोजी गर्न भारत जान थालेका छन् ।
यो महिनामात्र बाजुराको, बूढीगङ्गा नगरपालिका डुग्री, नडाग, अम्कोट बडिमालिका लगायतबाट झण्डै २५० बढी युवा भारतको सिम्लामा रोजगारीको खोजीमा गएको नेपालीले बताए ।
साउनको दोस्रो साताबाट स्याउ टिप्ने काम मिल्ने भएकाले त्यही कामका लागि भारतको सिम्लामा जान थालेको बडिमालिका नगरपालिका –६ मनाका बलबहादुर साउदले बताए ।
गाउँमा रोजगारी नमिलेपछि ती युवाहरुले कामकै खोजीका लागि यतिबेला भारतका विभिन्न ठाउँमा भौतारिनुपरेको बूढीगङ्गा नगरपालिका स्थानीय भरतबहादुर रावतले बताए ।
आर्थिक वर्ष २०८०–८१ मा गाउँका बेरोजगारलाई रोजगार दिनेगरी प्रत्येक वडामा कृषि र पुशफर्म सञ्चालन गर्ने बूढीगङ्गा नगरपालिका –१ का वडा अध्यक्ष रणबहादुर थापाले बताए । उनले यो कार्यक्रमले एक वर्षमा झण्डै सय जनाले गाउँमै रोजगार पाउनसक्ने बताए ।
गोरखापत्र














