
बाजुरा – बाजुराको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा जहाज कुर्दाकुर्दै एक बिरामीको मृत्यु भएको छ।
उच्च रक्तचापको समस्याबाट पीडित ती बिरामीको जिल्लामा उपचार सम्भव नभएपछि बाहिर लैजान चिकित्सकले सुझाव दिएका थिए। मुगुका विर्खलाल कार्कीको स्वास्थ्य केन्द्रमै मृत्यु भएको कार्यालय प्रमुख डाक्टर प्रतिक न्यौपानेले बताएका छन्।

कार्कीको थप उपचारका लागि नेपालगञ्ज वा धनगढी मध्ये सिटीस्क्यान सहितको सुविधा भएको अस्पतालमा लैजान रिफर गरिएको थियो। ६० वर्षीय कार्कीलाई आफन्तले जहाज आउने प्रतिक्षा गरिरहेका थिए। मुगुको खत्याग गाउँपालिका–१ रातापानीका कार्कीलाई रातापानी प्राथमिक स्वास्थ्य केन्द्रले पनि कोल्टीलाई रिफर गरेको थियो।
मार्तडी कोल्टी र कर्णाली करिडोरको सडक बाटो बर्षाका कारण बिग्रीएर अवरुद्ध भएपछि कार्कीका आफन्त जहाजको प्रतिक्षामा थिए। तर दुई दिनसम्म पनि जहाज नआएपछि आफन्तले हेलिकप्टरको समेत जोहो गर्ने प्रयास गरेका थिए। हेलिकप्टर समेत मौसमका कारण नआउने अवस्था भएपछि कार्कीले प्राथमिक स्वास्थ्य केन्द्रमै ज्यान गुमाएका हुन्।













