बाजुरा – बाजुराको बुढी नन्दा नगरपालिका –८ पाण्डुसैनका स्थानीय महिलाले पछिल्लो समय वनमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट खुदो बनाउने काम सुरु गरेका छन् । असोज देखि मङ्सिर महिना सम्म बुढी नन्दा नगरपालिकाको मेलापात वन जङ्गलमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट यहाँका स्थानीय महिलाले खुदो बनाउने गरेका हुन् ।
पाकेको मेलबाट बनेको खुदोले गाई भैसी भेडा बाख्रा लगायतका जनावरलाई आँउमासी झाडापखाला तथा दिसा पिसाबमा रगत आउने रोगलाई निको पार्ने भएकोले पछिल्लो समय यहाँका महिलाहरूले मेलको खुदो पार्ने गरेको बुढी नन्दा नगरपालिका –८ खिन्तुरी रोकायाले बताईन् ।
मानव तथा जीव जनावरको स्वास्थ्यका लागि मेलको खुदो निकै उपयोगी हुने भए पनि यसलाई बजारमा बिक्री गर्न भने समस्या भएको उनको भनाई छ । पहिलेको पुस्ताले मेलको खुदो बनाएर गाउँ गाउँमा लगेर बिक्री गर्ने गथ्र्याे । अहिलेको पुस्तालाई यसको बारेमा खासै जानकारी नहुँदा बिक्री गर्न समस्या भएको रोकायाले बताईन् ।
बुढा पाखाले तमाखुमा हालेर खाने गरेकोले गाउँ घरमा भने केही मात्रामा मात्र बिक्री हुने गरेको भए पनि बाहिर भने कतै माग नभएको रोकायाले बताईन् । बाजुराको हिमाली , स्वामिकार्तिक , जगनाथ , बुढी नन्दा , गौमुल बडिमालिका , त्रिवेणी , बुढीगङ्गा र खप्तडछेडेदह लगायतका गाउँपालिकाका अधिकांश ठाउँमा मेल प्रशस्त पाइन्छ ।
तर त्यो मेल त्यत्तिकै खेर जाने गरेको छ । यसलाई स्थानीय सरकारले सदुपयोग हुने गरी कार्यक्रम ल्याउने हो भने यहाँका बेरोजगार युवालाई घरमै काम पाइने सम्भावना रहेको छ ।
असोज देखि मङ्सिर सम्म पाक्ने गरेको यो मेल अहिले पनि गाउँमा त्यत्तिकै खेर गइरहेको छ । खाँदा गुलियो र स्वादिलो हुने मेल मानव स्वास्थ्यका लागि समेत निकै उपयोगी छ । तर यसको प्रयोग भने कमै हुने गरेको छ ।
गाउँमा बनेको मेलको खुदोलाई अहिलेको स्थानीय सरकारले देशका विभिन्न सहरमा लिने गरी आर्थिक लगानी गर्ने हो खुदोबाट नै यहाँका स्थानीयको पेट पाल्ने सक्ने रोकायाले बताईन् ।