अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा महोत्सवमा भेटिएको नक्कली टिकटको अनुसन्धानकालागि थप चारजना सहित छापाखाना विरुद्ध किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका छन् ।
टिकट रुजु गर्ने जिम्मेवारीमा रहेका संघका महासचिव शंकर खड्का,महोत्सवमा छपाईको जिम्मेवारी पाएका कार्यसमिति सदस्य बम बहादुर बोगटी,टिकटमा छाप हान्ने दुई युवती र टिकट छाप्ने छापाखाना विरुद्ध किटानी जाहेरी लिएर बोहरा बुधबार जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । उत्त जाहेरी दर्ता भने नभएको बताईएको छ ।
यसअघि मंगलबार संघका सचिव दिलिप कुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महरा विरुद्ध किटानी जाहेरी दर्ता भई पक्राउ पुर्जी जारी भईसकेको छ ।
महोत्सवमा टिकट वितरकको जिम्मेवारी सचिव साउँदलाई थियो भने स्ववियु सभापति महराले टिकट बिक्रीको जिम्मा पाएका थिए ।
अत्तरियामा पुष २६ गतेदेखी माघ ७ गतेसम्म अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा २८ ठेली नक्कली टिकट बरामद गरिएको थियो ।