सुत्केरीलाई कोसेली

Image

बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिकाले पछिल्लो समय सुत्केरी महिलालाई कोसेली कार्यक्रम सञ्चालन गरेको छ ।

गत आर्थिक वर्ष २०७९–८० बाट गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालन गरेको हो। पछिल्लो समय गाउँमा केही बच्चामा कुपोषण देखा परेकोले त्यसलाई न्यूनिकरण गर्नेगरी उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको खप्तड छेडेदह गाउँपालिकाले जनाएको छ । यो कार्यक्रम सञ्चालन गरेपछि यती बेला यहाँका सुत्केरीको मुहारमासमेत निकै खुसी छाएको छ ।

कार्यक्रमले पछिल्लो समय यहाँका अधिकांश आमा र बच्चा दुबैको स्वास्थ्यमा राम्रो परिवर्तन ल्याएको खप्तड छेडेदह गाउँपालिका–२ कमला रावतले बताए । उनले भने, ‘गाउँपालिकाले सञ्चालन गरेको यो सुत्केरीसँग कोसेली कार्यक्रमले यहाँका आर्थिक अवस्था कमजोर भएका महिलाका लागि निकै सहज भएको छ ।’

पछिल्लो समय जन्मिने कुनै पनि बालबालिका कुपोषणको सिकार बन्नु नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बिसु नाथले बताइन्।

खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर १ मा ३२ वडा नम्बर २ मा १८ वडा नम्बर ३ मा २४ वडा नम्बर ४ मा २२ वडा नम्बर ५ मा ३२ वडा नम्बर ६ मा २५ वडा नम्बर ७ मा ३२ गरी जम्मा १८५ जना सुत्केरी महिला समेटिएको नाथले बताइन ।

अहिले कुपोषित भएका बालबालिका र पछिल्लो समयमा जन्मिएका नयाँ कुनै पनि बालबालिकालाई कुपोषणबाट मुक्त गर्नेगरी खप्तड छेडेदह गाउँपालिकाले सात वटै वडामा उपाध्यक्षसँग सुत्केरी कोशेली कार्यक्रम सञ्चालन गरेको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताए ।