अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरा र निर्वतमान अध्यक्ष अशोकराज देवकोटा पक्राउ पुर्जी जारी भएको आठौँदिन पनि प्रहरीको सम्पर्कमा आएका छैनन् । गत माघ २६ गते जिल्ला प्रहरी कार्यालय कैलालीले संघका अध्यक्ष कल्याण सिंह बोहरा र निर्वतमान अध्यक्ष अशोकराज देवकोटाको नाममा कैलाली जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जनाएको थियो ।
अरुका नाममा किटानी जाहेरी दिने अध्यक्ष नै आफ्नो नाममा पक्राउ पुर्जी जारी भएपछी सम्पर्कबिहिन हुँदा व्यवसायी लगायत विभीन्न स्तरबाट टीकाटिप्पणी आउन थालेका छन् । विद्यार्थी नेता समेत रहेका पुष्पराज सुवेदीले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् “नक्कली टिकट प्रकरणमा किटानी जाहेरी दिने ब्यक्ति नै फरार ,अझै सेफ लेण्डिङको प्रयास जारी नै छ त। अनुसन्धानका लागि ४ जना प्रहरी नियन्त्रणमा रहेका बेला आफ्नै कार्य समितिका सदस्यलाई जाहेरी दिएर अध्यक्ष कल्याण बोहरा र पूर्वअध्यक्ष अशोक राज देवकोटा अझै फरार हुनु र प्रहरीको सम्पर्कमा नआउनुले ठूलो आशंका उत्पन्न भएको छ। आखिर भाग्ने चै कहिले सम्म?”
त्यस्तै व्यवसायी तथा उद्योगी व्यवसायी संघर्ष समितिका संयोजक गणेश बलायरले लेखेका छन् “अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्षले दिएको किटानी जाहेरीले ४ जना प्रहरी हिरासतमा बस्नुपर्ने र उहाँकै नाममा पक्राउ पुर्जी जारी हुदा उहाँ फरार देखिनुले कानुनको पालना पहुँच नभएका कालागि मात्र रहेछ भन्ने स्पष्ट देखिन्छ ।”
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार उनीहरुको खोजीकार्य जारी रहेको छ । उनीहरु सम्पर्कमा आएका छैनन् । स्रोतका अनुसार उनीहरु दुवैजना हिरासतमा बस्न नचाहेर सम्पर्कमा नआएका हुन् । यसअघि पक्राउ पुर्जी जारी भएपछी गत माघ १९ गते स्वएच्छिक जिल्ला प्रहरी कार्यालय कैलालीमा हाँजीर भएका संघका महासचिव सहितका चारजना हिरासतमा छन् ।
उनीहरुलाई २५ औँ दिनमा सरकारी वकिलमार्फत जिल्ला अदालतमा उपस्थीत गराईनेछ । स्रोतका अनुसार हाल प्रहरीको सम्पर्कमा नरहेका दुवै अध्यक्ष पनि सोहिदिन जिल्ला अदालतमा उपस्थीत हुने मनसायमा छन् । अत्तरियामा पुष २६ गतेदेखी माघ ७ गतेसम्म अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा २८ ठेली नक्कली टिकट बरामद गरिएको थियो ।