जाखोर तालमा चराको उपस्थिति बढ्यो

Image

धनगढी – धनगढीको जाखोर तालमा चराको उपस्थिति बढेको छ । पछिल्लो समय तालमा मानवीय हस्तक्षेप रोकिएपछि विभिन्न प्रजातिका चरा तालमा बढ्न थालेका हुन् ।

धनगढी उपमहानगरपालिका-७ देवहरिया उद्यानमा रहेको यो ताललाई विगतमा माछा पालनका लागि ठेक्कामा दिइएपछि चराहरूको सङ्ख्या घटेको थियो । केही समययता जाखोर तालमा माछा पालन गर्न र मार्नमा रोक लगाइएको छ ।

2 ad new year 1

माछा पालन कार्य रोकिएपछि तालमा रैथाने र आगन्तुकको चराहरूको उपस्थिति बढिरहेको चराविद् हिरुलाल डङ्गौराले बताउए । उनका अनुसार सङ्कटापन्न नकटा चरासहित सिलसिले हाँस, लामऔंले, बगाले सिम कुखुरा, कर्रा साउरी, विभिन्न प्रजातिका बकुल्लाको सङ्ख्या जाखोर तालमा बढिरहेको छ ।

यसैबिच, चरा अनुगमनका क्रममा जाखोर तालमा ३६ वटा नकटा चरा फेला परेका छन् । यो सङ्ख्या कैलालीमा दोस्रो बढी हो । यसअघि, रखौना तालमा ४७ वटा नकटा चरा भेटिएका थिए । यो प्रजातिका चराको सङ्ख्या नेपालको पश्चिम तराईमा सबैभन्दा बढी छ ।

सुदूरपश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको कालीकिच तालमा सबैभन्दा बढी अभिलेख गरिएको छ । यसै वर्ष कालीकिचमा ६५ वटा नकटा चरा अभिलेख गरिएको छ । कुनै समस्या नभएमा सहर नजिकको जाखोर ताल चरा अवलोकनका लागि अत्यन्त राम्रो गन्तव्य बन्दै जाने भन्दै डङ्गौराले थपे, “तर, तालमा रहेको जलकम्भी भने हटाउनु पर्छ ।”

केही वर्ष पहिलो जाखोर तालमा मालक हाँस र गरुड चरा पनि अभिलेख भएका थिए । तर, ताललाई माछा पालनका लागि ठेक्कामा दिएपछि चराको उपस्थिति नै घटेको थियो । देहरिया वनस्पति उद्यानमा १२.५ हेक्टर क्षेत्रफलमा जाखोर ताल फैलिएको छ ।