काठमाडौंमा बालिका बलात्कार गरेको आरोपमा सुदूरपश्चिमका दुई जना पक्राउ

Image

काठमाडौं – काठमाडौंमा १५ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले सुदूरपश्चिमका दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त, गौशालाले सामूहिक बलात्कारको आरोपमा दार्चुला घर भएर बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने १८ वर्षका शुभराज पन्त र बाजुरा घर भएर कपन बस्ने १९ वर्षका चेतराज दानीलाई पक्राउ गरेको हो ।

बालिकाकी आमाले प्रहरी वृत्त बौद्धमा दिएको जाहेरी अनुसार पन्त र दानीले फेसबुकमार्फत चिनजान भएकी बालिकालाई जरुरी काम भएको भन्दै २१ माघमा डेरामा बोलाएका थिए ।

कोठामै दुवैजनाले करणी गरेको बालिकाले प्रहरीसमक्ष बताएकी छन् । उनीहरुले यो कुरा कसैलाई भने मार्ने धम्की दिएका थिए ।

बालिकाले उक्त घटनाबारे आमालाई भनेपछि प्रहरीमा जाहेरी परेको थियो । बालिकाको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य जाँच गरिएको थियो ।

यो घटनामा अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ । सरकारी वकिलले अदालतमा मुद्दा दायर समेत गरिसकेको छ ।