बैतडीमा ट्रकसहित १९ लाख बढीको अबैध सामान बरामद

Image

बैतडी – बैतडीमा ट्रकसहित १९ लाख बढीको अबैध सामान बरामद गरिएको छ। जिल्लाको मेलौली नगरपालिका–३ लामालेकबाट से १ ख २०१४ नम्बरको ट्रकसहित अबैध सामान प्रहरीले बरामद गरेको हो। चार लाख ८ हजार ४ सय ४० रुपैयाँको अवैध सामान र १५ लाख ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

बुधबार बिहान ३ बजेको समयमा ट्रकसहित भन्सार छलीको सामान र चालक पाटन नगरपालिका–८ का ४५ वर्षीय गणेश मडैलाई नियन्त्रणमा लिएको उनले बताए।

बैतडी प्रहरीले एक हप्ताको अवधिमा भारतबाट भन्सार छली ल्याइएको ३० लाखभन्दा बढीको सामान बरामद गरेको छ। बरामद सामान र ट्रकलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय, धनगढी पठाइएको छ।

भन्सार छलेर तल्लो स्वराडबाट ट्रकमा सामान ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो। बरामद गरिएको सामानमा बिडी, चिनी, खानेतेल, मिश्री, चप्पल, प्याज, मिठाई लगायत छन्।