पक्राउ परेका पूर्वसभामुख महरा नर्भिक अस्पताल भर्ना

Image
maya metro

काठमाडौं – सुन प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई नर्भिक अस्पताल थापाथली भर्ना गरिएको छ।

कमजोर स्वास्थ्य अवस्था कारण देखाउँदै काठमाडौं जिल्ला अदालतले अस्पतालमा राखेर अनुसन्धान गर्न दिएको आदेशका आधारमा उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

nisarga

उनका अनुसार सुरक्षा पहराका साथ महरालाई अस्पतालमा भर्ना गरिएको हो। महराले आफू बिरामी भएको बताएपछि अदालतले प्रहरीलाई चार दिन हिरासतमा राख्न र अस्पतालमा राखेरै अनुसन्धान गर्न अनुमति दिएको थियो।

नेता महरालाई हिजो कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो। गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग नेता महराको नाम जोडिएको छ।

ती व्यक्तिसँग चिनजान र कुराकानी भएको स्वीकार गरे पनि महराले तस्करीको विषयमा भने आफू अनभिज्ञ रहेको दाबी गर्दै आएका छन्।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरामाथि अनुसन्धान गर्न सिफारिस गरेको र सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै महरालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको हो।