सिन्की बोहरा मृत्यु प्रकरण : दुई पक्षबिच सहमति, आन्दोलनको कार्यक्रम स्थगित

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी–२ स्थित अत्तरिया बसपार्कमा बसले किच्दा घटनास्थलमै मृत्यु भएकी सिन्की बोहरा र महाकाली यातायात प्रालिबिच सहमति भएको छ । आज मंगलबार बेलुकी उनीहरुबिच सहमति भएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरासिंह महराले पिडित पक्षले कानुन बमोजिम क्षतिपुर्ति पाउने सहमति भएको बताए ।

nisarga

छलफलमा सहभागी बझाङी सेवा समाजका अध्यक्ष झलक ऐडीले पिडित पक्षले कानुन बमोजिम क्षतिपुर्ति पाउने तथा चालकलाई कानुन बमोजिम कारबाही गर्ने सहमति भएको बताए ।

आज दिउँसोभर भएको वार्तामा सहमति जुट्न नसकेपछि पिडित पक्षले भोलिदेखि आन्दोलन गर्ने घोषणा गरेका थिए । सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको मृतकका भतिजा शिवराज बोहराले बताए ।

बझाङको मस्टा गाउँपालिका ६ का वडाध्यक्ष समेत रहेका उनले अब आफूहरुले शव बुझ्ने बताए । आइतबार बेलुकी महेन्द्रनगरबाट दार्चुलातार्फ जाँदै गरेको महाकाली यातायातको सुप प्र ०२–००१ख९५६ नम्बरको बसले पानी बेचिरहेकी बोहरालाई किचेको थियो ।

बस र चालक दार्चुलाको मालिकार्जुन–२ बस्ने २४ वर्षीय रोहितसिंह धामीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिइसकेको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले आइतबारदेखि नै प्रर्दशन गर्दै आएका थिए ।