अत्तरिया उद्योग वाणिज्य संघको कार्यसमितिमा दुई धार

Image

अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको कार्यसमिति दुई धारमा विभाजित भएको प्रष्ट भएको छ । समितिले सुदूरपश्चिम प्रादेशिक महोत्सव २०८० को आयव्यय सार्वजनिक गर्न आज (मंगलबार) आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष दल बहादुर खड्काले नेतृत्व गरेको समूह मात्रै उपस्थीत भयो ।

संघका अध्यक्ष कल्याणसिंह बोहरा नक्कली टिकट प्रकरणमा नाम जोडिएपछी हालसम्म सम्पर्कमा छैनन् । बोहराजस्तै निवर्तमान अध्यक्ष पनि सोहि प्रकरणमा नाम जोडिएपछी सम्पर्क बाहिर छन् । अध्यक्ष बोहराको खेमाका भनीएका सचिव र दुईजना सदस्यहरु पनि आज पत्रकार सम्मेलनमा उपस्थीत भएनन् ।

सचिव सहित सदस्यहरु किन आएनन् भन्ने पत्रकारको प्रश्नमा नक्कली टिकट प्रकरणपछी समितिमा दुई धार भएको र आफुहरुले जानकारी गराएपनि उपलब्ध भएका पदाधीकारीहरु समेत उपस्थीत नभएको जवाफ उपाध्यक्ष खड्काको समूहले दियो ।

१५ जनाको कार्यसमिति रहेको संघमा अध्यक्ष बोहरालाई निवर्तमान अध्यक्ष सहित ४ जनाको समर्थन रहेको बुझ्न सकिन्छ । वरिष्ठ उपाध्यक्ष खड्कासंग उपाध्यक्षहरु,महासचिव,कोषाध्यक्ष सहित ९ जना छन् । पत्रकार सम्मेलनमा खड्का समूहका नौ जनाकै उपस्थीती रहेको थियो ।

खड्का समूहकै बालकृष्ण ओझा भने व्यत्तिगत कामले जिल्ला बाहिर रहेको पत्रकार सम्मेलनमा बताईयो । पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष खड्काले व्यापारीहरुले आफुहरुप्रति गरेको विश्वासलाई कायम राख्न हर सम्भव प्रयास गर्ने बताए ।

उनले यो पटकको महोत्सव आफुहरुका लागि पहिलो भएको हुँदा सिकाई भएको र आगामी वर्ष कमी कमजोरीलाई सच्याएर अघि बढ्ने बताए ।