अत्तरिया – अछाम बैजनाथ सेवा समाज कैलालीले १२ गतेसम्म होली मनाउने भएको छ । हिजो अत्तरियाको वनखेतस्थीत शिव मन्दिरबाट सुरु गरेको होली गोदावरी नगरपालिकाका विभीन्न ठाउँमा १२ गतेसम्म मनाउने निर्णय भएको बम बहादुर बोगटीले बताएका छन् ।
आज दिउँसो १ बजदेखीे शिव मन्दिर परिसरमै होली खेलिने भएको छ भने भोली ( ११ गते ) वडा नम्बर ५ स्थीत गेटामा र पर्सि (१२ गते) वडा नम्बर १० मा होली खेल्ने कार्यक्रम रहेको बोगटीले बताएका छन् ।
होलीलाई मौलिक संस्कृतीका रुपमा मनाएर समाजमा संस्कृती संरक्षण र प्रर्वद्धन गर्ने उदेश्यले होली मनाउन लागिएको अछाम बैजनाथ सेवा समाज कैलालीले जनाएको छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन होली पर्व मनाइन्छ ।
यो पर्व नेपालमा दुई दिन मनाइन्छ । हिमाल र पहाडमा यो पर्व अघिल्लो दिन मनाइन्छ भने त्यसको भोलिपल्ट तराईमा धुमधामसँग मनाइन्छ ।
होली पर्व हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् ।
निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ .