बैतडी – जिल्लाको एक सय वटा सामुदायिक वनमा निरन्तर आगलागी हुँदा सङ्कटापन्न पन्छी च्याखुरा र तित्रो सङ्कटमा परेका छन् । भुइँमै गुँड लगाउने च्याखुरा र तित्रोको गुँडसहित बासस्थान जलेपछि च्याखुरा र तित्रा सङ्कटमा परेका हुन् ।
आगलागीका घटनापछि वनमा साँझबिहान च्याखुरी च्याखुरी गर्दै च्याखुरा बासेको आवाज र तीन तारा तित्रिस गरी तित्रा बासेको आवाज पनि सुनिन बन्द भएको छ । गर्मीयाममा भुइँमै फुल पारेर ओथारो बस्ने बेलामा आगलागी हुँदा च्याखुरा र तित्रोको बासस्थान, अन्डा र चल्ला पोलिएका छन् ।

पाटन नगरपालिका–९ का कृष्णसिंह भाटले च्याखुरा र तित्राले भुइँमै फुल पारेर ओथारो बस्ने बेलामा वनमा आगलागी भएको बताए । आगलागीले च्याखुराका बासस्थान, गुँड र आहाराका रूपमा रहेका किराफट्याङ्ग्रा पनि पोलिएका छन् ।
यो प्रजातिको चरा एक सय/दुई सय मिटरभन्दा टाढा उड्न सक्दैन । भुइँमा हिँडेरै चल्ला हुर्काउने गर्छ । आगलागीका कारण तित्रोभन्दा च्याखुरा थप सङ्कटतिर धकेलिएको पाटन नगरपालिका–१० का वडाध्यक्ष धनवीरसिंह कुँवरले बताए ।
च्याखुरालाई नेपाल सरकारले सङ्कटापन्न पन्छीको सूचीमा राखेको छ । नेपालमा सबैभन्दा पहिला सन् १७९३ मा क्रिक प्याट्रिकले यो पन्छीको अभिलेख राख्नुभएको पाइन्छ । च्याखुरा जङ्गलमा पाइने प्रजातिको चरा भए पनि यसलाई घरमा ल्याएर पाल्ने चलन छ । पहिले धेरै जसोले यो चराको भालेलाई पाल्ने गरे पनि पछिल्लो समयमा भने हराउँदै गएको छ । कुनै बेला काठमाडौँ उपत्यकावरिपरि पनि भेटिने च्याखुरा पछिल्लो समय नेपालभर घट्दै गएको जानकारहरू बताउँछन् । सुदूरपश्चिमको बैतडी च्याखुराका लागि प्रसिद्ध मानिन्छ । कुनै बेला बैतडीमा च्याखुरा लडाइँ प्रतियोगिता हुने गरेको बताइन्छ ।
आगलागीले ससना बोटबिरुवा, जडीबुटीतर्फ पाखनवेद, चिराइतो, कौँकौँ जस्ता महत्वपूर्ण सम्पदा जलेर खरानी हुँदा पनि वनसम्पदाको क्षतिको विवरण तयार हुन सकेको छैन । चुत्रो, ऐँसेलु, काफल जस्ता जङ्गली फलफूलमा पनि क्षति पुगेको छ ।